तिहार र छठ पर्व सकिएसंगै कार्तिक १४ गते प्रदर्शनमा आउने पारिवारिक कथाप्रधान फिल्म परानको मन छुने ट्रेलर राजधानीमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।
दीपकप्रसाद आचार्य (काकु) को डेब्यु निर्देशनमा बनेको फिल्मले बुढेसकालमा सन्तानको माया, साथ र स्नेहको खोजीमा भौतारिने एक बाबुको संवेदनशील कथा प्रस्तुत गरेको छ। ट्रेलरमा सन्तानप्रतिको आशा,अपेक्षा र सन्तानले आफ्नै सपना पछ्याउँदा बुबा आमाको जीवनमा आउने एक्लोपनलाई भावनात्मक रूपले चित्रण गरिएको छ।
फिल्मको मुख्य भूमिकामा ख्यातिप्राप्त अभिनेता नीर शाह देखिएका छन्। लामो समयपछि शीर्ष भूमिकामा फर्किएका शाहले यसपटक पनि आफ्नो गम्भीर र आत्मीय अभिनयले दर्शकलाई मन्त्रमुग्ध पार्ने अपेक्षा गरिएको छ। अभिनयका भीष्मपितामाका रूपमा चिनिएका शाहको अभिनय यात्रामा यो फिल्म अर्को गहिरो चिन्हका रूपमा जोडिने विश्वास गरिएको छ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारले अभिनय गरेका छन्।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापित बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा रञ्जित आचार्य र शेखर गोल्छाद्वारा निर्मित फिल्ममा दीपकप्रसाद आचार्यको कथा तथा यम थापाको पटकथा र संवादमा तयार फिल्ममा रिदम कंडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर, सुनील क्षेत्रीको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ।
भावनात्मक कथावस्तु, अनुभवी कलाकारको अभिनय र सशक्त प्रस्तुतिका कारण परानले दर्शकमाझ बुढेसकालको ममताभाव र पारिवारिक सम्बन्धको गहिरो अर्थ उजागर गर्ने आशा गरिएको छ।











प्रतिक्रिया