ट्रेलरमा मैझारो


लोकप्रिय हास्य अभिनेता विल्सन विक्रम राई (तक्मेबुढा) को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म मैझारोको ट्रेलर सार्वजनिक गरिएको छ।
तीन मिनेट ४९ सेकेन्डको ट्रेलरमा प्रेमको लागि गरेको संघर्ष र त्यसपछि उत्पन्न समस्या प्रस्तुत गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर, दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन्। निर्देशक विल्सन आफैं पनि देखिएका छन्। यसअघि निर्माण समूहले दुई गीत रिलिज गरिसकेको छ।

निर्देशक राईकै कथा रहेको फिल्म पूर्वको इलाम र पाँचथर आसपासमा खिचिएको छ। तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा धिरज र मिरुनाका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन, विशाल लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन्।

तिहारको भाइटीका अर्थात् आगामी कातिक ७ गते रिलिजमा आउने फिल्मको गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत, राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारीलगायतको स्वर र सौरभ लामाको छायांकन रहेको छ।