हेटौंडा।
बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफूले पाउने सरकारी सेवासुबिधाबाट निर्माण गरिदिएको घर मकवानपुरको मनहरि गाउँपालिका–९, ज्यामिरे निवासी मिठुमाया सुनारलाई आज आइतबार हस्तान्तरण गरिने भएको छ ।
मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा निर्माण गरिएको घर हस्तान्तरणसँगै मिठुमाया अब आफ्नै घरमा बस्ने हुनुभएको हो । नेपालीहरूको महान पर्व तिहारको अवसरमा आइतबार बिहान मिठुमायालाई घर हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जानकारी दिएको छ ।
मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रको राक्सिराङ गाउँपालिका–१, इन्द्रङका सुमनसिं चेपाङको अर्को घरसमेत द्रुतगतिमा निर्माण भइरहेको र कात्तिकभित्र सम्पन्न गरी हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएको छ । मुख्यमन्त्री बानियाँले यसअघि पनि मकवानपुरको बकैया गाउँपालिका–५, गर्गरेमा आगलागीबाट घर गुमाएका पीडितलाई १ लाख व्यक्तिगत सहयोग गर्नुभएको थियो ।
बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलबभत्ता र आफ्नो सचिवालयलाई प्राप्त अन्य सेवासुबिधा कटौती गर्दै विपन्न परिवारको घर निर्माणमा खर्चिने घोषणा गर्नुभएको थियो । उक्त बैठकले प्रदेशभरका आर्थिक रूपमा पछाडि परेका जेहेनदार विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिने निर्णयसमेत गरिएको थियो । मन्त्रिपरिषद् बैठकबाट यसअघि नै चेपाङ, दलित, बोटे, जिरेल, हायु, वनकरियालगायत अति विपन्न र सीमान्तकृत समुदायका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्न उच्च प्राथमिकतासाथ नीतिगत व्यवस्था गरिने निर्णयसमेत भएको थियो ।











प्रतिक्रिया