तीन महिनामा १८ प्रतिशत मात्र बजेट खर्च


काठमाडौँ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सरकारले कुल बजेटको करिब १८ प्रतिशत मात्र खर्च गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारको कुल खर्च तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रुपियाँ पुगेको छ, जसले वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत प्रतिनिधित्व गर्छ। यस आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको बजेट ल्याएको थियो।

खर्च शीर्षकअनुसार हेर्दा, चालु खर्च वार्षिक विनियोजनको २१ दशमलव ७५ प्रतिशत अर्थात् दुई खर्ब ५६ अर्ब ८० करोड ६० लाख रुपैयाँ रहेको छ। पुँजीगत खर्च भने निकै सुस्त देखिएको छ । वार्षिक विनियोजनको केवल चार दशमलव सात प्रतिशत अर्थात् १९ अर्ब १८ करोड ३४ लाख रुपियाँ मात्र खर्च भएको छ। त्यसैगरी वित्तीय व्यवस्था शीर्षकमा २३ दशमलव ६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड बराबर खर्च भएको छ।

यस अवधिमा राजस्व सङ्कलन पनि सुस्त रहेको छ। सरकारको वार्षिक राजस्व लक्ष्य १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपियाँ रहेकामा असोज मसान्तसम्ममा दुई खर्ब ५३ अर्ब १८ करोड ७९ लाख रुपियाँ मात्र उठाइएको छ, जुन वार्षिक लक्ष्यको १६ दशमलव ५१ प्रतिशत हो।

आन्तरिक राजस्वतर्फ १४ खर्ब ८० अर्ब रुपियाँ उठाउने लक्ष्य रहेकामा हालसम्म दुई खर्ब ४९ अर्ब पाँच करोड १४ लाख अर्थात् १६ दशमलव ८३ प्रतिशत मात्र संकलन भएको छ। त्यस्तै, वैदेशिक अनुदानको पक्षमा पाँच खर्ब ४४ करोड ६९ लाखको लक्ष्य रहेकामा अहिलेसम्म तीन दशमलव ७६ प्रतिशत अर्थात् दुई अर्ब ७२ लाख रुपियाँ मात्र प्राप्त भएको छ। यसरी चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म खर्च र राजस्व दुवै सुस्त गतिमा अगाडि बढेको देखिएको छ।