ढाका विमानस्थलमा भीषण आगलागी, पाँच उडान अन्यत्र डाइभर्ट


ढाका।

बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार दिउँसो भीषण आगलागी भएको छ। आगो नियन्त्रणमा लिनका लागि ठूलो संख्यामा दमकल परिचालन गरिएको छ र उडान सञ्चालन अस्थायी रूपमा रोकिएको छ।

बंगलादेशको अग्रणी पत्रिका द डेली स्टारका अनुसार, दिउँसो करिब २:३० बजेतिर विमानस्थलको गेट नम्बर ८ नजिकै आगलागी सुरु भएको थियो। आगो निभाउन ३६ वटा दमकल युनिटहरू परिचालन गरिएको जनाइएको छ।

इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सका अनुसार, आगो नियन्त्रणमा बंगलादेश नागरिक उड्डयन प्राधिकरण, अग्नि सेवा, नौसेना र वायुसेनाका दमकल युनिटहरू सक्रिय रूपमा संलग्न छन्। साथै, सीमा रक्षक बंगलादेशका दुई प्लाटुन पनि राहत तथा उद्धार कार्यमा सहभागी भएका छन्।

विमानस्थल स्रोतहरूले बताए अनुसार, आगलागीका कारण कम्तिमा पाँच उडानहरूलाई चटगाउँको शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल र सिल्हेटको उस्मानी अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको छ।

हालसम्म आगलागीबाट हुने क्षतिको विवरण सार्वजनिक गरिएको छैन।