अनिश्चितता, अस्थिरता र निराशाले ग्रस्त भएको देशमा अहिले एउटा चम्किलो उज्यालो फैलिएको छ । त्यो हो, नेपाली क्रिकेटले पाएको सफलता । नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो पटक टी–२० विश्वकपमा स्थान बनाएपछि मुलुकभर एक किसिमको आशा, गर्व र उत्साह सञ्चार भएको छ । यो सफलता केवल खेलको मैदानमा मात्रै सीमित छैन, यसले समग्र राष्ट्रलाई आत्मबल, प्रेरणा र एकताको सन्देश दिएको छ ।
सन् २०१४ मा पहिलोपटक विश्वकप खेल्न पुगेको नेपालले त्यसपछि झन्डै एक दशकसम्म विश्वकपको ढोका ढक्ढक्याउनु प¥यो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा दोस्रोपटक सहभागिता जनाइसकेपछि पनि अब आउने विश्वकपमा लागि नेपालको यात्रा सहज नभईरहेको अवस्था थियो । तर, नेपालले त्यसलाई चिर्दै अगाडि बढ्न सफल भयो । हालै ओमानमा सम्पन्न एसिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा अपराजित रहँदै नेपालले तेस्रो पटक विश्वकपको यात्रा तय ग¥यो । यो यात्रा विश्वकपमा केवल पुनरागमन मात्रै थिएन, यो त नेपाली क्रिकेटको पुनर्जागरण पनि थियो ।
नेपाली क्रिकेट टोलीको यो सफलता कुनै सामान्य उपलब्धि होइन । यो अहिलेको राजनीतिक अनिश्चितता, सामाजिक असन्तुलन र निराशाजनक परिवेशमा आएको त्यस्तो विजय हो जसले सम्पूर्ण मुलुकलाई एकैसाथ हर्षित र गर्वित बनाएको छ । जब सबैथोक ओरालो झर्ने क्रममा छ, त्यही बेला खेलाडीहरूले आफ्नो प्रदर्शनको बलबुटामा देशको अनुहारमा चम्किलो मुस्कान छरिदिएका छन् । विशेषगरी सुपर सिक्स चरणमा युएई र कतारमाथिको रोमाञ्चक जितले नेपाली टोलीको धैर्य, आत्मबल र टीमवर्क स्पष्ट देखायो । १ रन र ५ रनको झिनो अन्तरको जित हुँदा पनि त्यो जितको गहिराइ असिमित थियो । त्यो केवल रनको मात्र खेल थिएन, त्यो त आत्मबल, रणनीति र राष्ट्रिय स्वाभिमानको कथा थियो । संसारभरका क्रिकेट प्रेमीहरूको नजर फेरि एकपटक नेपालतर्फ मोडिएको थियो ।
वास्तवमा यस ऐतिहासिक यात्राको मूलमा रहेको छ नेपाली खेलाडीहरूको अनुशासन, मेहनत र बलियो मानसिकता । कुशल भुर्तेलले आक्रामक सुरुआत गर्दै विपक्षीलाई दवाबमा राखे, आसिफ शेखले संयमता अपनाउँदै प्रभावकारी पारी खेले, दीपेन्द्र सिंह ऐरीले आफ्नो कप्तानी क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरे भने लोकेश बमले अन्तिम ओभरमा धमाका गर्दै टोलीलाई ठोस नतिजातर्फ डो¥याए । बलिङतर्फ सन्दीप लामिछाने, ललित राजवंशी, रोहित कुमार र करण केसीजस्ता खेलाडीहरूले विपक्षी ब्याट्सम्यानलाई निरीह बनाउँदै नेपाली बलिङ आक्रमणको शक्ति के–कतिसम्म छ भनेर उत्कृष्ट प्रमाण पेश गरे ।
खेलाडीहरू मात्र होइन, नेपाली समर्थकहरू पनि यो यात्राका नायक हुन् । ओमानको मैदानमा राता–निला झण्डा बोकेर हजारौंको संख्यामा उपस्थित नेपाली दर्शकहरूले जुन उत्साह र समर्पण देखाए, त्यसले खेलाडीहरूमा उर्जा थप्यो । “जय नेपाल” को नाराले विदेशी भूमि पनि नेपाली रंगले रंगियो । यस्तो समर्थनले टोलीलाई अलौकिक आत्मबल प्रदान ग¥यो । अन्तिम खेलमा सामोआविरुद्ध १२४ रनको फराकिलो जितले नेपालको अपराजित अभियानलाई गौरवमय नतिजा दिलायो । २११ रनको चुनौतीपूर्ण स्कोर बनाउँदै विपक्षीलाई ८७ रनमै समेट्नु सजिलो थिएन । ललित राजवंशीको उत्कृष्ट बलिङ, सन्दीपको अनुभव र टीमको संयुक्त रणनीतिले नेपाललाई एसिया÷इस्ट एशिया प्यासिफिक क्षेत्रको च्याम्पियन बनायो ।
यो केवल खेल जित्नु मात्रै थिएन, यो इतिहास कोर्नु पनि थियो । निसन्देह अब नेपालको झण्डा तेस्रोपटक विश्वकपमा फहरिनेछ । तर, नेपाली क्रिकेट टोलीप्रति हरेक नेपाली नागरिक नतमस्तक हुनु जरुरी छ, जसले यस्तो कठिन घडीमा सम्पूर्ण राष्ट्रलाई गर्व गर्न योग्य क्षण प्रदान गरेको छ । आज जब देश अनेकौं समस्याले थिचिएको छ, यस्तो अवस्थामा यो जित केवल खेलको कथा मात्रै होइन, यो राष्ट्रिय आत्मबल र पहिचानको पुनस्र्थापना पनि हो । यो सफलताको यात्रा नेपाली क्रिकेटको लागि मात्र होइन, सम्पूर्ण देशको लागि प्रेरणाको स्रोत पनि बन्नेछ । नयाँ पुस्ताका युवाहरूले यसबाट आत्मबल र उर्जा लिनेछन् । आउँदो दिनमा पनि नेपाली क्रिकेट विश्वमञ्चमा यसरी नै चम्किरहने छ भन्ने आशा गरौं ।











प्रतिक्रिया