गाग्रीको पानी छोइन्छ कि भन्ने डर हराउँदै

470
Shares

मुगु।

पाँच वर्षअघिसम्म छायाँनाथ रारा नगरपालिका–६ कोटीला गाउँकी रामजिरा कुलाल र कमला मल्लले छत्यालवाडाको स्थानीय मूलपानीमा गाग्रीको पानी छोइन्छ कि भन्ने डरले एक–एक मिटरको दूरी कायम गरी कुवामा पानी भर्ने गर्थे ।

तर, पछिल्लो समय समाजमा चेतना बढेपछि हिजोआज यहाँका दलित र गैरदलित समुदायले पानी भर्ने पँधेरोमा उक्त छुवाछूतको दूरी हटाएको छ ।
कुवामा पानी भर्दाको समयमा अहिले यहाँका दलित र गैरदलितका महिला तथा बालबालिकाले पानी भरेको भाँडालाई एक–आपस उठाएर सहयोग गर्ने गरेको छायाँनाथ रारा नगरपालिकाका समाजसेवी स्थानीय हर्क कुमाल बताउँछन् । कुनै समयमा यहाँ पानी भर्दा हामी दलित समुदायले पानी भर्दा छुवाछूत हुन्छ भनेर पानी भर्नालाई घण्टौं पर्खिनुपर्ने हुन्थ्यो तर अहिले समाज बुझ्ने भएपछि दलित तथा गैरदलितलाई सहज भएको रामजिरा कुलालको कथन छ ।

‘अहिले पानी भर्न सँगसँगै जान्छन् र भरी गाग्रो डोकामा राख्न एक अर्काले सघाउँछन् । हिजोआज सबै जातजाति एउटै भएका छन् । छुवाछुत गर्न हुँदैन भन्ने समाजले बुझेको छ ।’ –थानीय धनकला मल्लले भनिन् । उनले चार वर्षअघि जिल्लाको एक गैरसरकारी निकायले गाउँमा छुवाछुतसम्बन्धी सडक नाटक प्रदर्शन र गाउँ–गाउँमा छुवाछुतसम्बन्धी तालिम दिएपछि यस्तो अवस्था भएको उनको कथन छ ।

जिल्लामा विस्तारै सबैको सोच परिवर्तन हुँदै गएपछि अहिले गैरदलितले दलितको भान्सामा गएर खाना खाने गरेका छन् । कुनै इतिहासमा जातको नाममा दमन अनि शोषण हुने गरेको थियो । तर, पछिल्लो समयका पुस्ता शिक्षित हुँदै गएकाले अहिले छुवाछूतको विषयमा अन्त्य हुँदै गएको जिल्ला नागरिक समाजका अगुवा रूपबहादुर मल्ल बताउँछन् ।