काठमाडौं।
जेन–जी आन्दोलनका क्रममा भएको क्षतिबाट बीमा कम्पनीहरूमा सवा २३ अर्ब रुपियाँभन्दा बढीको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले असोज २८ गतेसम्म संकलन गरेको तथ्यांकअनुसार १८ वटा निर्जीवन र लघु निर्जीवन बीमा कम्पनीमा गरी ३ हजार १६३ वटा दाबी परेका छन् । ती दाबीहरूको कुल मूल्य २३ अर्ब २१ करोड ३६ लाख रुपियाँ पुगेको प्राधिकरणले जनाएको छ ।
हालसम्म कम्पनीहरूले अग्रिम भुक्तानीसहित १ अर्ब ९५ करोड रुपियाँ बराबरको दाबी भुक्तानी गरिसकेका छन् । प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ, जसमा मात्रै ३९४ वटा दाबीबाट ५ अर्ब ४८ करोड रुपियाँको दाबी दर्ता भएको छ । सो कम्पनीले हालसम्म ७८ करोड रुपियाँभन्दा बढी भुक्तानी गरिसकेको छ । सो दाबीमध्ये भाटभटेनी सुपरमार्केटको क्षति सबैभन्दा ठूलो भएको बताइएको छ ।
दोस्रो ठूलो दाबी द ओरियण्टल इन्स्योरेन्समा परेको छ, जसमा ९८ वटा दाबीमार्फत ५ अर्ब २४ करोड रुपियाँ बराबरको बीमा दाबी दर्ता भएको छ। कम्पनीले हालसम्म ७१ लाख रुपियाँ मात्रै भुक्तानी गरेको छ । तेस्रो स्थानमा रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २१५ वटा दाबीबाट २ अर्ब ७९ करोड रुपियाँ दाबी परेको छ, जसमा ३० करोड ७६ लाख रुपियाँ भुक्तानी गरिएको छ ।
त्यसपछि शिखर इन्स्योरेन्समा ४३३ वटा दाबीबाट २ अर्ब ४१ करोड रुपियाँ दाबी परेको र ४२ करोड २७ लाख रुपियाँ भुक्तानी भएको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३४२ वटा दाबीबाट १ अर्ब ५९ करोड रुपियाँको दाबी दर्ता भएको छ भने २ करोड ७९ लाख रुपियाँ भुक्तानी भइसकेको छ । साथै नेको, हिमालयन एभरेष्ट, सानिमा जिआईसी, युनाइटेड अजोड, एनएलजी, राष्ट्रिय, नेपाल, प्रभु, नेसनल र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलगायतमा समेत करोडौँ रुपियाँका दाबी परेका छन् ।
बीमा प्राधिकरणका तथ्यांकअनुसार सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको छ । कुल ६७३ वटा दाबीबाट १९ अर्ब ७१ करोड रुपियाँको दाबी दर्ता भएको छ, जसमा १ अर्ब ५५ करोड रुपियाँ भुक्तानी भइसकेको छ । त्यस्तै मोटर बीमामा २ हजार २५६ वटा दाबी परेका छन्, तर कुल रकम ३ अर्ब ४५ करोड रुपियाँ रहेको छ। यसमध्ये ३६ करोड रुपियाँ भुक्तानी गरिएको छ।इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा १८२ वटा दाबीबाट ३३ करोड रुपियाँ दाबी परेका छन् भने ३ करोड ८१ लाख रुपियाँ भुक्तानी भएको छ ।
त्यस्तै परिवहन बीमामा १२ वटा दाबीबाट १ करोड ६३ लाख रुपियाँ र अन्य बीमा शीर्षकमा ४० वटा दाबीबाट ३८ करोड ८६ लाख रुपियाँको दाबी परेको छ । प्रदेशगत विवरणमा बागमती प्रदेशमा सबैभन्दा धेरै दाबी परेका छन् । १ हजार ७०६ वटा दाबीमार्फत १७ अर्ब ५९ करोड रुपियाँ बराबरको बीमा दाबी दर्ता भएको छ । त्यसपछि कोशी प्रदेशमा ३९४ वटा दाबीबाट २ अर्ब ३६ करोड रुपियाँ र गण्डकी प्रदेशमा २१३ वटा दाबीबाट १ अर्ब ७१ करोड रुपियाँको दाबी परेका छन् । मधेश प्रदेशमा ६९ करोड, लुम्बिनीमा ४७ करोड, कर्णालीमा १० करोड र सुदूरपश्चिम प्रदेशमा ३३ करोड रुपियाँ बराबरका दाबी दर्ता भएका छन् ।
बीमा प्राधिकरणका अनुसार यो प्रारम्भिक विवरण हो र दाबीको सत्यता तथा मूल्यांकन प्रक्रिया जारी छ । अधिकांश दाबीहरू अग्रिम भुक्तानीसहितको अवस्थामा छन् र क्षतिको पूर्ण मूल्यांकनपछि अन्तिम भुक्तानी चरणबद्ध रूपमा हुने प्राधिकरणले जनाएको छ ।












प्रतिक्रिया