काठमाडौं।
अस्ट्रेलियाका अनुभवी ओपनिङ ब्याट्सम्यान डार्शी शर्ट आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन् ।
लुम्बिनी लायन्सले उनलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो । ३५ वर्षीय बाँयाहाते ओपनर शर्टले सन् २०१८ देखि २०२० सम्म अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट ८ एकदिवसीय र २० टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सबाट ७ म्याच खेलेका थिए भने अस्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिग (बीबीएल) मा दुई फरक फ्रेन्चाइजबाट १०२ खेलको अनुभव बटुलेका छन् ।
शर्टको आगमनले लुम्बिनी लायन्सको ब्याटिङ थप सशक्त हुने विश्वास टोली व्यवस्थापनले व्यक्त गरेको छ । क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“अस्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका डार्शी शर्टलाई टिममा स्वागत गर्न पाउँदा हामी उत्साहित छौं । उनको अनुभव र क्षमताले हाम्रो टिमलाई ठूलो फाइदा पुग्नेछ ।” शर्टको अनुबन्धसँगै लुम्बिनी लायन्सको टिममा अन्तर्राष्ट्रिय अनुभव र स्थायित्व थपिएको छ । यसअघि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाकै अर्को स्टार क्रिस लिनलाई अनुबन्ध गरेको थियो ।
आगामी मंसिर १ गते बाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुने एनपीएलको यस सिजनमा आठवटै टिमले नेपाली खेलाडी अक्सनमार्फत टोली निर्माण गरिसकेका छन् भने विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अस्ट्रेलियन खेलाडीहरूको सक्रिय सहभागिताले यसपटकको लिगलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन मद्दत पुग्ने अपेक्षा आयोजकले गरेका छन् ।











प्रतिक्रिया