तनावपूर्ण खेल जित्दै कतार विश्वकपमा छनोट


लन्डन, (एजेन्सी)

विश्वकप छनोटअन्तर्गत मंगलबार राति सम्पन्न कतार र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल अन्त्यतिर पुग्दा अराजक झडपमा परिणत भयो । खेल २–१ गोलअन्तरले कतारको पक्षमा सकिएको भए पनि अन्तिम क्षणमा भएको दोस्रो गोलपछि मैदानमा तनाव चुलिएको थियो ।

खेलको ४९औं मिनेटमा बोआलेम खौकीले पहिलो गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । उनले यूएईका समर्थकतर्फ फर्किएर उत्सव मनाएपछि दर्शकहरूले चप्पल, बोतल र प्लास्टिकको कप फ्याँक्दै आक्रोश पोखेका थिए । त्यसपछि पेड्रो मिगेलले दोस्रो गोल गर्दा पनि त्यही शैलीमा उत्सव मनाए । जसले झनै आगोमा घ्यू थपियो ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, मैदानमा रहेका केही समर्थक ब्यारिकेड पार गर्दै मैदानभित्रै प्रवेश गरेको जनाइएको छ । त्यस्तै, एक मान्यता प्राप्त फोटोग्राफरले समेत आवेगमा आएर खेलाडीमाथि जुत्ता प्रहार गरेको बताइएको छ ।

सुरक्षा व्यवस्थालाई नियन्त्रणमा लिन खोज्दा खेलाडी, कोचिङ स्टाफ, वैकल्पिक खेलाडी र समर्थकबीच धक्का–मुक्कीसमेत भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई खटाउनुपरेको थियो । त्यसबीच कतारी समर्थकहरूले पनि आक्रोशित हुँदै वस्तु फ्याँक्न थालेपछि झडप झनै व्यापक बन्न पुगेको थियो ।
खेलपछिको पत्रकार सम्मेलनमा कतारका प्रशिक्षक जुलेन लोपेटेगीले घटनाप्रति दुःख व्यक्त गर्दै भने, “हामीले यस्ता व्यवहारलाई दोहोरिन नदिने प्रयास गर्नुपर्छ । फुटबल विभाजन होइन, एकता ल्याउने माध्यम हो ।”

यूएईका प्रशिक्षक कोस्मिन ओलारियोले भने,“घटना दुवै पक्षबाट भएको हो । अहिले हामीसँग परिस्थितिलाई स्वीकार गर्नेबाहेक विकल्प छैन ।”
यस खेलसँगै कतार लगातार दोस्रो पटक विश्वकपका लागि छनोट भएको छ । तर, खेलपछिको घटनाले ‘गल्फ डर्बी’ को रोमाञ्चलाई हिंसात्मक छायाँमा पु¥याएको छ । उक्त खेलमा हारेको यूएईलाई भने अब विश्वकप पुग्न दुई चरणको प्ले–अफ पार गर्नुपर्नेछ ।

पहिलो चरणमा इराकसँग र त्यसमा सफल भएमा अन्तरमहादेशीय प्ले–अफ पनि खेल्नुपर्ने छ । यसैबीच, यूएईमाथि अनुशासनात्मक कारवाही हुने सम्भावनाबारे एसियाली फुटबल महासंघले (एएफसी) छानबिन अघि बढाउने पनि बताइएको छ ।