टिकाराम यात्री, भूषण दाहाल, जीवराम भण्डारी,राजेन्द्र बानियाँ जस्ता स्थापित मिडियाकर्मीहरूको नाम नेपालमा पत्रकारिताको इतिहाससँग जोडिएको छ। उनीहरूलाई मिडियाको प्रतीक मानिन्छ। तर, पछिल्ला वर्षहरूमा यिनै नामहरू विवादको केन्द्र बन्न पुगेका छन् ।
कारण के भने, यिनले जनताको भावनामा असर पार्ने विषयहरूलाई बिना जिम्मेवारी प्रयोग गर्न थालेका छन्। अन्तर्वार्ता लिनु कुनै अपराध होइन, प्रश्न सोध्नु पत्रकारिताको आत्मा हो। तर जब अन्तर्वार्ता मनोरञ्जनको सामग्रीमा बदलिन्छ, जब हिँस्रक र विभाजनकारी अभिव्यक्तिहरूलाई बिना नियन्त्रण प्रसारित गरिन्छ, तब त्यो पत्रकारिता होइन । त्यो आक्रमण हो। अनि यही आक्रमणले अहिलेको विद्रोही पुस्तालाई तयार गरिरहेको छ, जसले शब्दभन्दा हल्लामा, प्रमाणभन्दा अनुमानमा, र तथ्यभन्दा क्रोधमा विश्वास गर्न थालेको छ। यही क्रोधले देशको भित्ताभित्तामा आगोको धुवाँ छरेको छ ।
हिँस्रक भाषा र मिडियाको प्रभाव
“काट्छु, मार्छु, आगो लगाउँछु, लखेट्छु, खेदाउँछु” जस्ता शब्दहरू कुनै सामान्य व्यक्ति होइन, सार्वजनिक व्यक्तित्वको मुखबाट राष्ट्रिय टेलिभिजनमा उच्चारित भए, र त्यो पनि कुनै सेन्सरसिप वा सन्तुलन बिना, यसले जनताको मानसिकतामा कस्तो प्रभाव पार्छ भन्ने बुझ्न कठिन छैन ।
मिडियाले आफ्नो भूमिकालाई दर्शकको मनोरञ्जनका लागि घटाएर प्रस्तुत गर्यो । जब टेलिभिजनमा असहिष्णुता र अराजकता प्रसारित हुन्छ, तब त्यो समाजमा जरा गाड्छ । आज हामी त्यही अराजकताका बिरुवाहरू फल्दै गरेको देखिरहेका छौं । जसको फल विषिलो छ, जसले विचारभन्दा भावनालाई अगाडि राखेको छ।
सत्यको नाममा फैलिएको असत्य
मिडियाको धर्म सत्य बोल्नु हो । तर सत्य बोल्ने नाममा जब असत्यलाई स्थान दिइन्छ, त्यो स्वतन्त्रता होइन,अपराध हो।
हिल्टन होटलमा आरजु देउवाका छोरा जयवीरको लगानी छ भन्ने कुरा प्रमाणबिना प्रसारित भयो। त्यसपछि हिल्टन होटलमा आगो लाग्यो। जनताले त्यो हल्लालाई सत्य माने ।
भाटभटेनीमा पनि यस्तै आरोप लगाइयो,प्रचण्डको लगानी छ भनेर। तर आजसम्म ती दाबीहरू प्रमाणित हुन सकेका छैनन्। तथापि ती कथाहरूले जनताको भावनामा आगो बालिदिए, जसको तापले व्यवसायी, लगानीकर्ता र आम जनतासमेत झस्किएका छन् । यस्तो वातावरणमा विश्वास मारिन्छ, अनि अविश्वास बढ्छ। मिडियाको एउटा हेडलाइनले देशको अर्थतन्त्र हल्लाउन सक्छ भन्ने कुरा हामीले बारम्बार देखिसक्यौं।
तथ्यभन्दा मनोरञ्जनको खोजी
एकजना पूर्व प्रहरी अधिकृतले हिजो मात्रै बिना प्रमाण प्रचण्डको निवासबाट दुई ट्रक पैसा लगिएको भनाइ सार्वजनिक गरे,त्यो पनि राष्ट्रिय मिडियाको मञ्चमा। त्यो कुरा टिकाराम यात्रीले उत्साहका साथ सुनेर प्रसारित गरे। पत्रकारिताको मूल उद्देश्य प्रश्न सोध्नु हो, तर प्रश्न सोध्नु र आरोप सुनिदिनुमा फरक हुन्छ। उनले त्यो फरक बुझेनन्। उनले त्यो विषयलाई तथ्य–जाँचबिनको स्तरमा नलिएर मनोरञ्जनको रूपमा प्रस्तुत गरे, जसले देशको राजनीतिक तापक्रम अझ बढायो।
यसरी प्रसारित सूचनाले जनतालाई शान्त पार्दैन,बरु भड्काउँछ, विभाजन बढाउँछ, अनि देशमा अस्थिरता थप्छ। देशमा खरवौंको क्षति भइसकेको छ, तर मिडिया र मिडिया,सम्बद्ध पात्रहरूले अझै पनि आफ्ना शब्दहरूलाई हतियारको रूपमा प्रयोग गरिरहेका छन् ।
बालेन साहलाई ‘लुसिफर’ सँग तुलना गर्नु त्यसकै अर्को उदाहरण हो। आलोचना गर्नु एउटा कुरा हो, तर एउटा निर्वाचित जनप्रतिनिधिलाई दानवको प्रतीकमा चित्रण गर्नु त्यो केवल अभिव्यक्ति होइन,आक्रोश हो। यस्तो भाषाले समाजलाई सुधार्दैन, झन् विभाजित बनाउँछ। यसले युवाहरूमा गलत धारणा जन्माउँछ कि कुनै पनि समस्या बल प्रयोगले मात्र समाधान हुन्छ।
विद्रोही पुस्ता र हल्लाको आगो
यही सोचले अहिलेको विद्रोही जेनेरेसन निर्माण गरेको हो । जसले विश्वास गुमाएको छ, नेतृत्वप्रति घृणा बोकेको छ, र संस्थाप्रति शंका गर्छ । सामाजिक सञ्जालले यस आगोलाई अझ ठूलो बनाएको छ । कथित सेलिब्रेटीहरू, इन्फ्लुएन्सरहरू र स्वघोषित विश्लेषकहरूले आफ्नो व्यक्तिगत मतलाई सत्यको रूपमा प्रस्तुत गर्न थालेका छन्।कोही भन्छन् जेन्जी आन्दोलन एनजिओको खेल हो , कोही भन्छन् यो अमेरिकी एजेन्टहरूको योजनाअन्तर्गत चलाइएको हो, कोहीले भारतमाथि आरोप लगाउँछन्। तर साँचो कुरा के हो भने, देशलाई खरानी बनाउने शक्ति न बाहिरबाट आएको हो, न कुनै संस्थाबाट। यो आफ्नै समाजभित्रका भ्रम र स्वार्थी दृष्टिकोणले जन्माएको आगो हो। विदेशीले भन्दा बढी देशका आफ्नै प्रचारकहरूले देशलाई कमजोर बनाएका छन्।
मिडिया र विश्वासको संकट
हो, नेताहरू भ्रष्ट छन्, उनीहरूले देशको स्रोतसाधन दुरुपयोग गरेका छन्। तर जनताले हरेक कुरामा विश्वास गुमाउने अवस्था सिर्जना गर्ने जिम्मेवारी केवल नेताहरूको होइन, मिडियाको पनि हो। विदेशी शक्तिहरू सधैं नेपालको राजनीतिमा चासो राख्दै आएका छन्, तर आजको जस्तो अस्थिरता र दयनीयता पहिले कहिल्यै देखिएको थिएन। समस्या पहिल्यै पनि थिए, तर त्यतिबेला मिडियाले सत्यको खोजी गर्थ्यो। आज भने मिडियाले कथा बेच्न थालेको छ—जसले तिनै समस्याहरूलाई आगोमा परिणत गरिदिएको छ।
पत्रकारिता मनोरञ्जन होइन, मार्गदर्शन हो
हामी यस्तो समयमा छौं जहाँ पत्रकारिताले जनतालाई शान्त पार्नुपर्ने हो, तर अहिले त्यसले जनतालाई भड्काइरहेको छ । सूचना दिने नाममा अनुमान फैलाउने चलन बढेको छ, प्रमाणको सट्टा धारणा बेच्ने प्रवृत्ति बनेको छ। यसले जनताको सोचमा भ्रम सिर्जना गरेको छ। नागरिकहरू अब सोच्दैनन् । केवल प्रतिक्रिया दिन्छन्, हल्ला सुनेर निर्णय गर्छन्, अनि पछुताउँछन्।
यो सूचना युगको विडम्बना हो,जहाँ जानकारीको मात्रा बढेको छ, तर सत्यको मूल्य घटेको छ । मिडिया स्वतन्त्र हुनुपर्छ, तर स्वतन्त्रता र दुरुपयोगबीचको सिमाना बुझ्न जरुरी छ। स्वतन्त्रता भनेको तथ्यको पक्षमा उभिनु हो, कसैको विपक्षमा होइन। जिम्मेवारी भनेको सत्यलाई सावधानीपूर्वक प्रस्तुत गर्नु हो—हल्लाको रूपमा होइन।
तर अहिले मिडियाको स्वतन्त्रता लोकप्रियताको प्रतिस्पर्धामा हराइसकेको छ—जहाँ सबैले केवल दृश्य र भ्यूजको खोजी गर्छन्, र जनतालाई मनोरञ्जनको माध्यममा बदल्छन्। यस्तो प्रवृत्तिले पत्रकारिताको मूल आत्मा मारिरहेको छ।
शब्दको संवेदनशीलता र समाजको विभाजन
नेपालमा अहिले समाचारको प्रभाव राजनीतिक भन्दा पनि सामाजिक तहमा बढी पर्छ। एउटा हेडलाइनले बजारमा आतंक फैलाउन सक्छ, एउटा अन्तर्वार्ताले समुदायबीच वैमनस्यता जन्माउन सक्छ, र एउटा मिडिया क्लिपले आन्दोलनको दिशा नै परिवर्तन गर्न सक्छ। जब यस्तो शक्ति गैरजिम्मेवारीका हातमा पर्छ, तब त्यो शक्ति विनाशकारी हुन्छ र हामीले अहिले त्यही विनाशको अनुभव गरिरहेका छौं। मिडियाको भाषाले जनताको सोच बनाउँछ, त्यसैले शब्दले संवेदनशील हुनुपर्छ।
“हिलो फाल्ने प्रतिस्पर्धा” ले कहिल्यै सत्य उजागर गर्दैन—यसले केवल गन्ध फैलाउँछ। अहिले हरेक टेलिभिजन डिबेटमा आक्रोश छ, हरेक अन्तर्वार्तामा आरोप छ, हरेक समाचारमा डर छ, र हरेक शीर्षकमा तिक्तता छ । यो प्रवृत्तिले समाजलाई विभाजित बनाइरहेको छ । यसरी विभाजन भइरहँदा विकास सम्भव हुँदैन, शान्ति सम्भव हुँदैन। विद्रोह खराब होइन, तर विवेकविहीन विद्रोह आत्मघाती हुन्छ।
शब्दलाई उपचार बनाऔँ
हामी अहिले त्यही मोडमा उभिएका छौं। युवा पुस्ता जागेको छ, तर दिशाहीन छ। ऊ नेतामाथि रिसाएको छ, तर विकल्पहीन छ। ऊ परिवर्तन चाहन्छ, तर कसरी भन्ने थाहा छैन । मिडियाले उसलाई बाटो देखाउनुपर्ने हो, तर मिडियाले आगो देखाइरहेको छ—जसमा ऊ हाम्फाल्दैछ, अनि देश धुम्म भइरहेको छ ।
अब आवश्यक छ कि मिडियाले आत्मसमीक्षा गरोस्, आफ्नो भूमिका सम्झोस्। शब्दमा शक्ति हुन्छ, तर त्यो शक्ति जब विवेकबिनाको मुखमा पुग्छ, तब त्यो घातक बन्छ। मिडियाले अब केवल कसले के भन्यो भन्ने रिपोर्ट होइन, किन भन्यो, कस्तो प्रभाव पर्छ भन्ने बुझ्नुपर्छ। पत्रकारिता पुनः तथ्यमा फर्किनुपर्छ, प्रमाणमा टेकिनुपर्छ, र जनताको मनमा विश्वास पुनः जगाउनुपर्छ । त्यो मात्र उपाय हो जसले देशलाई यो अन्धकारबाट निकाल्न सक्छ ।
नेपालले धेरै संकट देखिसकेको छ । युद्ध, भूकम्प, महामारी, राजनीतिक उलटफेर। तर अहिलेको संकट फरक छ ।यो भौतिक होइन, मानसिक हो । चेतनाको संकट हो, जसले सत्य र झूटबीचको भिन्नता मेटाइरहेको छ । हल्ला र समाचार एउटै भएको छ, आरोप र अनुसन्धानबीचको सिमाना हराइसकेको छ, र मिडियाको विश्वसनीयता इतिहासकै कमजोर अवस्थामा पुगेको छ । यदि अहिले पनि सुधार भएन भने, यो संकट केवल मिडियाको होइन, सम्पूर्ण राष्ट्रको हुनेछ । अन्ततः, देशलाई खरानी बनाउनेहरू परदेशी होइननु । आफ्नै माइक समात्ने हातहरू हुन्, जसले जिम्मेवारी बिर्सेका छन्, विवेक बेचेका छन्, र जनताको विश्वास जलाएका छन्।
अब पनि समय छ, शब्दलाई हतियार होइन, उपचार बनाऔँ सूचना होइन, ज्ञान बनाऔँ अनि मिडियालाई मनोरञ्जन होइन, मार्गदर्शन बनाऔँ । किनकि जब सत्य बोलिन्छ, शान्ति फर्किन्छ र जब विवेक बोल्छ, देश बाँच्छ।











प्रतिक्रिया