रोनाल्डोको नाममा अर्को एक कीर्तिमान्


लन्डन, (एजेन्सी)

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले फिफा विश्व कप फुटबल प्रतियोगितामा गोलको अर्को एक कीर्तिमान आफ्नो नाममा राखेका छन् ।

फरवार्ड रोनाल्डोले मंगलबार मध्यराति हंगेरीविरुद्धको खेलमा नयाँ कीर्तिमान बनाएका हुन् । फिफा विश्वकप २०२६ अन्तर्गत् युरोपेली छनोटको समूह ‘एफ’ को खेलमा पोर्चुगल र हंगेरीले २–२ बराबरी खेलेका थिए । तर, यो नतिजाले १० अंक जोडेको पोर्चुगलले आगामी विश्वकपमा छनोट हुन अर्को खेलसम्म कुर्नु पर्ने भयो।

उक्त खेलमा पोर्चुगलबाट भएका दुबै गोल रोनाल्डोले गरेका थिए । योसँगैं उनलाई विश्वकप छनोटमा सर्वाधिक गोलकर्ताको रूपमा शीर्ष स्थानमा पु¥यायो । उनले ४१ गोल गरेर ३९ गोलका साथ यसअघि शीर्ष स्थानमा रहेका ग्वाटेमालाका स्ट्राइकर कार्लोस रुइजलाई पछाडि पारे । रुइजले यो उपलब्धि अन्तर्राष्ट्रिय फुटबलमा १८ वर्ष बिताएपछि हासिल गरेका थिए । उनले २०१६ मा संन्यास लिएका थिए ।

पोर्चुगलले आफ्नो पाँचौं खेलमा रिपब्लिक अफ आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नोभेम्बर १३ मा हुने यो खेलमा जित हासिल गरे पोर्चुगलले अर्कोे वर्ष संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा स्थान पक्का गर्नेछ । युरोपेली छनोटबाट इंग्ल्यान्ड भने विश्वकपमा छनोट भइसकेको छ । यो क्षेत्रबाट विश्वकपमा पुग्ने इंग्ल्यान्ड पहिलो टोलीसमेत बनेको छ ।

रोनाल्डोको कीर्तिमानहरू

–राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी (१४३ गोल)

–समग्रमा सर्वाधिक गोल गर्ने खेलाडी (९४८ गोल)

–फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी (४१ गोल)