नेपाल तेस्रो पटक विश्वकपको नजिक


काठमाडौं।

आईसीसी टी ट्वेन्टी विश्वकपअन्तर्गत एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटको सुपरसिक्समा ६ अंक जोडेर नेपाली टोली आगामी विश्वकपमा पुग्न नजिकिएको छ । सोमबार ओमानको मैदानमा भएको रोमाञ्चक खेलमा नेपालले कतारलाई ५ रनले हराएको हो । योसँगैं नेपालले समूह चरणमा पाएको २ अंकसहित गरी ६ अंक बनाउन सफल भयो ।

नेपाल यसअघि २०१४ को टी २० विश्वकपमा खेलेको थियो । त्यसबेला पारस खड्काको नेतृत्वमा रहेको नेपाली टोलीले प्रारम्भिक चरणमा खेलेको थियो । तर, २०२४ को टी २० विश्वकपमा भने नेपालले अन्तिम चरणकै प्रतियोगितामा खेलेको थियो । अहिले नेपाली टोली रोहित पौडेलको कप्तानीमा रहेको छ ।

नेपालले समूह चरणमा जापान र कुवेतलाई हराएको थियो । जसमा, जापान सुपरसिक्समा पुगेपछि नेपाललाई स्वतः २ अंकको लाभ भयो । यसपछि सुपरसिक्समा नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्सलाई १ रनले हराएको थियो । यो खेलमा नेपालले १ सय ४१ रनको लक्ष्य बचाएको थियो ।

अब, नेपालले आजको खेलमा ओमानसँग खेल्ने छ । यो खेल पनि नेपाली समयअनुसार बेलुकी नै हुनेछ । ओमानले पनि सुपर सिक्समा ६ अंक बनाइसकेको छ । यस हिसाबमा यो खेलमा जो टोलीले जित्यो त्यो टोलीले भारत र श्रीलंकामा २०२६ मा हुने टी २० विश्वकपमा खेल्ने तय गर्नेछ ।

यो क्षेत्रीय छनोटबाट तीन टोली आउने हुँदा नेपाल पनि विश्वकपमा पुग्ने लगभग तय नै छ । बलियो देखिएको ओमानसँग यदि हारेता पनि नेपाललाई कुनै नोक्सानी हुँदैन । नेपालले अन्तिम खेलमा सामोआविरुद्ध खेल्नेछ । सामोआको प्रदर्शन ठिकै मात्र रहेकोले नेपालले जित्ने संभावना बढी देखिएको छ ।