नौमती बाजाबाट आयआर्जन गर्दै भीरकोटका महिला

564
Shares

स्याङ्जा। 

स्याङ्जाको भीरकोट नगरपालिकाले वडा नं ६ एकुवारका मगर समुदायका  महिलाहरुलाई दिएको नौमती बाजा तालिम फलदायी बनेको बनेको छ । वडा र नगरको संयुक्त प्रयासबाट दिइएको नौमती बाजा तालिमबाट २२ जना महिलाहरुले  सीप मात्रै सिकेका छैनन्, आयआर्जन गर्न समेत सफल भएका छन् । तालिम लिएका महिलाहरुले पञ्चेबाजा आमा समूह गठन गरेका छन् ।

गत आर्थिक वर्षमा वडाले  महिलाहरुलाई तालिम दिन २ लाख   बजेट छुट्याएको थियो । तालिम पश्चात् समुदायका विभिन्न चाडपर्वमा बाजा बजाएर  समूहमार्फत २ लाख रुपैयाँ कमाउन सफल भएको आमा समुहका अध्यक्ष धनमाया थापा मगरले बताए । थापाले भने, “कमाइको केही अंश बाजा मर्मत संभारका लागि छुट्याएका छौं । अरु रकम समुहका सदस्यलाई दामासायी रुपमा बांँड्दै आएका छौं ।”

यहाँको नौमती बाजा महिला समूहमा ३० महिला आबद्ध छन् । समूहमा मगर समुदायका महिला सहभागी छन् । एकपटक नौमती बाजा बजाएको २५ देखि ३० हजार लिने गरिएको छ । समूहका महिलाले आफूलाई तीन टोलीमा विभक्त गराई विभिन्न स्थानमा नौमती बाजा बजाउन जाने गरेका छन् । केही समय पहिलेसम्म कुनै एक समुदाय विशेषका पुरुषले मात्र नौमती बाजा बजाउने चलन थियो । उक्त परम्परा तोड्दै जातिय भेदभाव जगाउने उद्देश्यले समुदायका सबैले नौमती बाजा बजाउन थालेका छन् । नौमती बाजामा पुरुष एकाधिकारको अन्त्य गर्दै कतिपय बाहुन, क्षेत्री समुदायका महिलाले पनि बाजा बजाएर आर्थिक आम्दानी गरिरहेका छन् ।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले मगर  आमा समूहले संस्कृतिको संरक्षणमा देखाएको चासो र प्रयासप्रती सम्मान व्यक्त गरेका छन् । स्थानीयको जीवनस्तर उकास्न नगरपालिकाले सीप विकासका साथै कृषि क्षेत्रमा जनताको माग र आवश्यकता अनुसार विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताए । नगर उपप्रमुख भगवती रेग्मी अर्यालले कला, संस्कृति र परम्पराको संरक्षणका लागि महिला दिदिबहिनीको हिम्मतको प्रशंसा गर्दै उनीहरुको माग अनुसार नै पुनर्ताजगी तालिम दिएको बताए । “महिलासँग उपमेयर कार्यक्रम“ मार्फत पुनर्ताजगी तालिम दिइएको बताउँदै उनले महिलाहरु सक्षम र उद्यमशील भएकोमा खुसी ब्यक्त गरे । 

बाजा बजाउने तालिमको पुनर्ताजगी गर्न र थप सक्षम एवं सिर्जनसिल बनाउन नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ मा सिन्धुली कलाघरका कलाकार मार्फत थप प्रशिक्षण दिएको छ  । सिन्धुली कलाघरका उपाध्यक्ष पवित्रा रम्तेल र रिता थिङले समुहका सदस्यलाई पुनर्ताजगी तालिम दिएका हुन । उपाध्यक्ष रम्तेलले भीरकोट नगरपालिकाले संस्कृति संरक्षण र महिला सशक्तीकरणका लागि गरेको प्रयासको खुलेर प्रशंसा गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले मौलिक संस्कृतिको संरक्षणमा आमा समूह र समुदायले देखाएको तत्परताको प्रशंसा गरे । सीमित स्रोतको उच्चतम सदुपयोग गरेर आमा समूहले मौलिक संस्कृतिको संरक्षण र आयआर्जनमा जुटेकोमा उनले खुसी व्यक्त गरे ।