गाजाबाट २० इजरायली बन्धक मुक्त हुने तयारी


काठमाडौं ।

गाजामा रहेका २० जना इजरायली बन्धकलाई केहीबेरमै मुक्त गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । हमास र इजरायलबीच जारी मध्यस्थता प्रक्रियामा सकारात्मक प्रगति भएपछि उनीहरूलाई छोड्ने तयारी गरिएको बताइएको छ।

कतार र इजिप्टको सहयोगमा भइरहेको वार्ताले केही सहमति जुटाएको स्रोतहरूले जनाएका छन्। प्रारम्भिक चरणमा २० जना बन्धकलाई मानवीय आधारमा रिहा गर्ने तयारी भइरहेको बताइए पनि अन्तिम सूची औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

योबीच, गाजामा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी पनि ती बन्धकहरू मध्ये हुन सक्ने आशा व्यक्त गरिएको छ। विपिन इस्रायलमा अध्यनरत अवस्थामा हमास आक्रमणपछि सम्पर्कविहीन भएका थिए। नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले विपिनको अवस्थाबारे निरन्तर जानकारी लिन खोजिरहेको र इजरायली पक्षसँग नियमित सम्पर्कमा रहेको जनाएको छ।

यदि विपिन जोशी ती मुक्त हुने बन्धकहरूको सूचीमा परे भने, यो नेपालका लागि ठूलो राहतको समाचार हुनेछ।
इजरायल र हमासबीच बन्धकबिनिमयको वार्तामा अझ केही दिन निरन्तरता रहने बताइएको छ।