काठमाडौं।
नेपालकी ‘गोल्डेन गर्ल’ तथा ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले दिल्ली हाफ म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतिष्ठित म्याराथनमा उनले १ घण्टा १५ मिनेट ४ सेकेण्ड समयमा दौड पूरा गरेकी हुन् ।
यो उनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणित कोर्समा राष्ट्रिय कीर्तिमान बनेको छ । यो दिल्ली हाफ म्याराथन एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्ट्यान्स रेस (एम्स) बाट प्रमाणित प्रतियोगितासमेत हो ।
सन्तोषीको नाममा यसअघि एम्स प्रमाणित बंगलादेशको बंगबन्धु म्याराथनमा हाफ म्याराथनतर्फ १ घण्टा १५ मिनेट १६ सेकेण्डको कीर्तिमान रहेको थियो । यद्यपी नेपालको प्रोटिन रनमा उनले १ घण्टा १४ मिनेट १४ सेकेण्डको राष्ट्रिय कीर्तिमान पनि उनकै नाममा छ । तर प्रोटिन रन अन्तर्राष्ट्रिय रुपमा प्रमाणित कोर्स नभएकोले उनको यो कीर्तिमान मान्यतामा रहेन ।
सन्तोषीले दिल्ली हाफ म्याराथनमा इन्टरनेशनल वुमन इलिट क्याटोगोरी अन्तर्गत अन्तर्राष्ट्रिय खेलाडीहरुसँग प्रतिस्पर्धा गरेकी हुन् । जसमा केन्याली धाविका लिलियान कसैटले उपाधि जितिन् । इथियोपियाकी धाविका मेलाल सिओउम र मुलत टेक्ले क्रमशः दोस्रो र तेस्रो भए ।











प्रतिक्रिया