काठमाडौं।
केही दशकअघिसम्म नेपालमा फुटबलको निकै चहलपहल देखिन्थ्यो । लिगको रौनक, मोहफसलमा हुने विभिन्न प्रतियोगिताहरूका साथै खेलाडी र समर्थकमा उत्साह हुने गथ्र्यो । अहिले केही वर्ष यतादेखि फुटबलको क्रेज घट्न थालेको छ । यसको सट्टा क्रिकेट खेलले नेपालमा ठूलो क्रेज बनाउन थालेको छ ।
गत वर्ष त्रिवि मैदानमा भएको नेपाल प्रिमियर लिगमा भुँइमा खुट्टै राख्ने ठाउँ नै हुँदैन । त्यति क्रेज बनेको छ क्रिकेटको । यसको उल्टो फुटबलमा भएको प्रतियोगितामा दर्शक न्युन देखियो । गत वर्ष फ्रेन्चाइजी नेपाल सुपर लिगमा दर्शक न्युन रहेको थियो । दर्शकलाई आकर्षण गर्न उपहारको लोभ देखाउनु परेको थियो ।
अहिले लिग पनि समयमा नहुँदा समर्थकसमेत अखिल नेपाल फुटबल संघ (एन्फा) मा धर्ना गर्न पुगेको छ । आइतबार एन्फाको मुख्यालयमा नेपाली फुटबल समर्थकले नारा लेखिएको प्लेकार्ड लिएर प्रदर्शन गरेको हो । उनीहरूले फुटबल संचालन गर्नु पर्नेका साथै एन्फालाई सुधार गर्न बुँदागत लिखित सुझाव दिएको थियो ।
‘फुटबल जनताको हो, कुनै व्यक्तिको होइन’ भन्ने नाराका साथ फुटबलमा सुधार, पारदर्शिता, सुशासन र खेलाडीको अधिकार सुनिश्चित गर्न माग गरिएको थियो । युवा समर्थकहरूले फुटबलको पुनर्ताजगीमा ढिलाइ गर्न नहुने भन्दै एन्फा र सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न आह्वान समेत गरेको थियो ।
उनीहरूले पछिल्ला ५ वर्षको वित्तीय विवरण, फिफा, एएफसी र फरवार्ड कार्यक्रमका अनुदान, प्रायोजनलगायतका सबै विवरण सार्वजनिक गर्नुपर्ने पनि माग राखेका थिए । त्यस्तै एन्फाको सबै बैंक स्टेटमेन्ट, खरिद र प्रोजेक्ट बिलहरू खुला गर्नुपर्ने र स्वतन्त्र अन्तर्राष्ट्रिय लेखा परीक्षकद्वारा अडिट गराई त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पनि मागमा उल्लेख छ ।
यसैगरी विगतका भ्रष्टाचार र नेतृत्वसम्बन्धी निर्णयहरूको जवाफदेहिता सुनिश्चित गर्न पनि उनीहरूले जोड दिए । ठूला रकम वितरणमा संलग्न अधिकारीहरूको नाम र सम्बन्धित कम्पनीहरूको सूची खुलाउने, सबै कार्यसमितिका सदस्यहरूले सम्पत्ति विवरण पेश गर्ने र विगतका जरिवानाको रकम कहाँ प्रयोग भयो भन्ने स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने विषय पनि समर्थकहरूको माग रहेको छ ।
घरेलु फुटबल लिग तत्काल सञ्चालन गर्न पनि उनीहरूले जोड दिएका छन् । सहिद स्मारक ए, बी र सी डिभिजन लिगको तालिका, स्थल र बजेट तुरुन्त सार्वजनिक गर्नुपर्नेमा जोड दिदै ३० दिनभित्र पुनःसुरु योजना ल्याउनुपर्ने भनिएको छ । लिग किन ढिलाइ भयो भन्ने कारण र त्यसमा सुधारका उपायहरू पनि सार्वजनिक गर्न उनीहरूको माग छ ।
महिला फुटबलमा देखिएको अपारदर्शिताबारे पनि धर्नामा आवाज उठाइएको थियो । राष्ट्रिय टिमको चयन मापदण्ड, प्रशिक्षक नियुक्ति प्रक्रिया, यात्रा र बजेट विवरण सार्वजनिक गर्नुपर्ने र महिला खेलाडी तथा स्टाफका बक्यौता फछ्र्योट गर्नुपर्ने उनीहरूको माग हो। पूर्व खेलाडी र प्रशिक्षकहरूको सहभागितामा स्वतन्त्र समीक्षा समिति गठन गर्न पनि आग्रह गरिएको छ ।











प्रतिक्रिया