वीरगञ्ज।
पर्सामा हैजा फैलिएको झन्डै दुई महिनापछि स्वास्थ्य कार्यालय पर्साले आइतबारदेखि जिल्लाको १४ पालिकामा एकैपटक हैजा रोगको महामारीविरूद्ध प्रतिकार्य खोप अभियान सञ्चालनमा ल्याएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई महिला स्वास्थ्यकर्मीले मुखमा हैजाको खोप खुवाएर हैजा रोगको महामारीविरुद्ध प्रतिकार्य खोप अभियानको शुभारम्भ गरिएको थियो ।
अवसरमा प्रमुख जिल्ला अधिकारी सुवेदीले केही दिन अघिसम्म पर्सा जिल्ला हैजाको महामारीमा परेकाले पर्सावासीलाई खोप लाएर लाभान्वित हुन तथा सुरक्षित रहन खोप कार्यक्रमलाई सफल पार्न आग्रह गर्नुभयो । उहाँले पैसाले किनेर यो खोप बजारमा नपाउने भएकाले यसबाट लाभ लिन सकिने बताउनुभयो । बाल तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएकाले कुनै प्रकार संकोच नलिन आग्रह गर्नुभयो ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले पर्सा जिल्लाको १४ पालिकामा एकै चरणमा असोज २६ गतेदेखि कात्तिक २ गतेसम्म खोप अभियान सञ्चालनमा रहने बताउनुभयो । उहाँले पर्सा जिल्लामा १ हजार ९ सय ५१ खोप केन्द्रर्माफत कार्यक्रम सञ्चालनमा आएको छ । वीरगञ्ज महानगरपालिकामा भदौ ६ गते देखिएको झाडापखालाले हैजा महामारीको रूप लिँदै गर्दा १ हजार ५ सय ६७ जना प्रभावित भएका थिए । जसमध्ये हाल नारायणी अस्पतालमा ४ जनाको उपचार भइरहेको छ ।











प्रतिक्रिया