काठमाडौं।
सरकारले गत ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति भएका जग्गाधनी स्रेस्ता (लालपूर्जा) पुनः कायम गर्ने प्रक्रिया सरलीकृत गरेको छ । आन्दोलनका क्रममा देशभरका विभिन्न मालपोत कार्यालयहरूमा आगलागी र तोडफोड हुँदा झण्डै १० लाख लालपूर्जा नष्ट भएका थिए । मालपोत कार्यालयहरूले जारी गरेका सूचनाबाट सर्वसाधारणमा त्रास फैलिएपछि सरकारले उक्त प्रक्रिया थप सहज र नागरिकमैत्री बनाउने निर्णय गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार, जग्गाधनीसँग रहेको सक्कल प्रमाणपूर्जा र प्रणालीमा अभिलेख मिलाएमा सो जग्गाको स्रेस्ता प्रणालीबाट प्रिन्ट गरी प्रमाणित गरिनेछ । यदि अभिलेख फरक परेमा ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम मार्फत मिलान गरी विवरण अद्यावधिक गरी नयाँ स्रेस्ता कायम गर्न सकिने व्यवस्था गरिएको छ । यसका साथै, नापी कार्यालयको फिल्डबुक, प्लट रजिस्टर नक्शा, स्थानीय तहको मालपोत लगत र कर बुझाएको रसिदलाई पनि प्रमाणका रूपमा प्रयोग गर्न सकिनेछ।
अभिलेख नभिडेको अवस्थामा, जग्गाधनीले पारित लिखतको सक्कलप्रति, बैंक वा अदालतमा पेस गरिएको प्रमाणित प्रतिलिपि र स्थानीय तहको हकभोग सिफारिस पेश गरेमा पनि स्रेस्ता पुनः जारी गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी, जग्गाधनी दर्ता प्रमाणपूर्जा उपलब्ध नभएमा स्थलगत सर्जमिन, सार्वजनिक सूचना प्रकाशन र कबुलियतनामा कागजका आधारमा पनि जग्गाको विवरण अद्यावधिक गर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
नष्ट भएका रोक्का लगतको हकमा, प्रणालीमा रहेको रोक्का रेकर्डलाई साविक गाविसअनुसार प्रिन्ट गरी रोक्का किताब तयार पार्ने र सम्बद्ध बैंक, वित्तीय संस्था, प्रशासनिक र न्यायिक निकायसँग मिलान गर्ने व्यवस्था गरिएको छ । अद्यावधिक स्रेस्ताबाट कारोबार गर्दा ऋणी र नी दुवैलाई जानकारी दिई मात्र लिखत पारित गर्नुपर्ने प्रावधान पनि राखिएको छ ।
विभागले मालपोत कार्यालय काठमाडौं (कलंकी), चितवन (भरतपुर), रुपन्देही (बुटवल), कैलाली (धनगढी), बाँके (नेपालगञ्ज), दाङ (घोराही र तुलसीपुर), कास्की (पोखरा) र मोरङ (विराटनगर) लगायतका कार्यालयहरूलाई नागरिकमैत्री सेवा प्रवाह गर्न एकैपटक परिपत्र गरेको छ । मालपोत ऐन, २०३४, मालपोत नियमावली, २०३६ र भूमि प्रशासन निर्देशिका, २०८१ का साथै अन्य पाँच प्रमुख मापदण्डहरूका आधारमा यो कार्यान्वयन सुरु गरिएको विभागले जनाएको छ । आन्दोलनका क्रममा देशभर ६ मालपोत कार्यालय पूर्ण रूपमा ध्वस्त र १४ कार्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्त कार्यालयहरूले अहिले आंशिक रूपमा सेवा प्रवाह सुरु गरिसकेका छन् ।
-आन्दोलनमा ६ मालपोत कार्यालय पूर्ण रूपमा नष्ट र १४ कार्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका थिए, जसबाट करिब १० लाख लालपुर्जाको ढड्डा जलेको अनुमान ।
– लालपुर्जा, नागरिकता, कर रसिद र स्थानीय तहको मालपोत लगतजस्ता कागजातका आधारमा स्रेस्ता पुनः प्रिन्ट गरी प्रमाणित गर्न सकिनेछ ।
– अभिलेख नमेल्दा ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम मा रहेका रेकर्डसँग भिडान गरी विवरण अद्यावधिक गर्न सकिनेछ ।
– अभिलेख नभेटिएमा स्थानीय तहको सिफारिस, स्थलगत सर्जमिन र सार्वजनिक सूचना जारी गरेर पनि स्रेस्ता कायम गर्न सकिनेछ ।
– नष्ट भएका रोक्का अभिलेख साविक गाविसअनुसार प्रिन्ट गरी नयाँ रोक्का किताब तयार पारिने ।
– दाङ (तुलसीपुर, घोराही), कास्की, चितवन (भरतपुर, खैरहनी), काठमाडौं (कलंकी), रुपन्देही (बुटवल), कैलाली (धनगढी), बाँके (नेपालगञ्ज) र मोरङ
(विराटनगर) का मालपोत कार्यालयलाई तत्काल सेवा पुनः सञ्चालनका लागि निर्देशन ।











प्रतिक्रिया