जुत्ता सिलाउँदै आत्मनिर्भरता,  आम्दानी भने घट्दो

9.68k
Shares

लमजुङ। 

काँचो माटोमा खेल्दै हुर्किएका हात अहिले सियो र धागो समाउँदै जीवनयापन गरिरहेका छन् । बेसीशहर नगरपालिका–३, गाउँशहरका राजकुमार दुलाल विगत एक दशकदेखि जुत्ताचप्पल सिलाउने पेशामा छन् । समाजमा यो पेसालाई सम्मानजनक दृष्टिले नहेर्ने प्रवृत्ति रहे पनि दुलालले आत्म–सम्मान र श्रमप्रतिको गर्वका साथ यही कामबाट परिवारको गुजारा गर्दै आएका छन्।

हजुरबुबाबाट सुरु भएको पेसागत परम्पराबाट प्रेरित दुलालले २०७३ सालमा १० हजार रुपैयाँको लगानीमा सियो र धागो किनेर व्यवसाय सुरु गरेका थिए । सुरुवातमा दाइको पसलको पेटीबाट थोरै उपकरणसहित सुरु भएको काम अहिले बेसीशहर–८ झिङेखोलामा रहेको सानो पसलमार्फत स्थायी रुपमा सञ्चालन भइरहेको छ ।

“विदेश जान सक्थें, तर गाउँमै केही गरेर देखाउँछु भन्ने सोच थियो,” दुलाल भन्छन्, “पुराना र फाटेका जुत्ता–चप्पल मर्मत गरेर पनि बाँच्न सकिन्छ भन्ने प्रमाण म स्वयं हुँ ।”

उनकी श्रीमती मोनिका दुलाल पनि फुर्सदको समयमा श्रीमानसँगै बिहानदेखि बेलुकीसम्म पसलमा सघाउँछिन् । दम्पतीको मासिक औसत आम्दानी करिब १५ हजार रुपैयाँ छ । यही आम्दानीबाट उनीहरुले घरखर्च र छोरीको पढाइ खर्च व्यवस्थापन गर्दै आएका छन् ।

गत वर्ष वर्ल्ड  भिजन इन्टरनेशनल नेपालले ५० हजार रुपियाँ  बराबरको सामग्री सहयोग गरेको दुलालले बताए । तर पछिल्ला वर्षहरुमा साना सवारी साधनको प्रयोग र बजारमा सस्ता नयाँ जुत्ता सजिलै उपलब्ध भएपछि सिलाइ व्यवसायको आम्दानी घट्दै गएको उनले बताए । “पहिले त चप्पल सिलाउन पनि भीड हुन्थ्यो,” उनी भन्छन्, “अहिले नयाँ किन्न सजिलो भएपछि काम घटेको छ । दशैंतिहारको बेला मात्रै काम अलि बढ्छ ।”

तर आम्दानी घटे पनि दुलालले पेशा छोड्ने सोच कहिल्यै गरेनन् । उनी भन्छन्, “यो काम मेरो पहिचान हो, हजुरबुबा र बुबाबाट सिकेको श्रम हो, त्यसैले म यसलाई निरन्तरता दिन चाहन्छु ।”

दुलालका अनुसार पछिल्लो पुस्ता यो पेसातर्फ आकर्षित छैन । युवाहरु विदेशी रोजगारीतिर आकर्षित हुँदा गाउँघरमा परम्परागत सीप हराउँदै गएको उनी बताउँछन् । स्थानीय तहले तालिम र उपकरणको सहयोग गरेर युवालाई यस्तो सीप सिकाउन सक्यो भने गाउँमै रोजगारी सिर्जना हुने दुलालको भनाई छ । 

जुत्ता–चप्पल मर्मत गरेर आत्मनिर्भर बनेका दुलालजस्ता साना व्यवसायीहरु समाजको मेरुदण्ड हुन् । उनीहरुका हातले पुराना जुत्तामा नयाँ जीवन दिन्छन्, तर समाजले उनीहरुका श्रमप्रति अझै पर्याप्त सम्मान देखाउन सकेको छैन । जबसम्म यस्ता सीप र श्रमको कदर गरिँदैन तबसम्म आत्मनिर्भरताको बाटो पनि कमजोर नै रहन्छ ।