काठमाडौँ।
भारतको मध्य प्रदेश प्रहरीले चेन्नईस्थित श्रीसन फार्मा कम्पनीका मालिक एस. रंगनाथनलाई पक्राउ गरेको छ। कम्पनीमाथि “कोल्ड्रिफ” नामक दूषित कफ सिरप उत्पादन गरेको आरोप छ, जसका कारण राज्यमा कम्तीमा २० बालबालिकाको मृत्यु भएको बताइन्छ।
छिन्दवाडाका प्रहरी अधीक्षक अजय पाण्डेका अनुसार विशेष अनुसन्धान टोली (एसआईटी) ले रंगनाथनलाई चेन्नईबाट पक्राउ गरेको हो। उनले भने, “छिन्दवाडाबाट गएको एसआईटी टोलीले श्रीसन फार्माका मालिक एस. रंगनाथनलाई नियन्त्रणमा लिएको छ। उनलाई मेडिकल जाँचपछि थप प्रक्रिया पूरा गरी छिन्दवाडा ल्याइनेछ।”
बालबालिकाको मृत्युका घटना अनुसन्धानका लागि मध्य प्रदेश सरकारले अक्टोबर ५ मा १२ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको थियो। सेप्टेम्बर ७ देखि परासिया क्षेत्रमा धेरै बालबालिकाको मृत्यु भएपछि प्रशासनले सेप्टेम्बर २३ मा औपचारिक अनुसन्धान सुरु गरेको थियो।
प्रारम्भिक अनुसन्धानले बालबालिकाले सेवन गरेको खोकी सिरपका कारण मिर्गौला फेल भएर मृत्यु भएको निष्कर्ष निकालेको छ। उक्त सिरप तमिलनाडुको कांचीपुरम जिल्लामा अवस्थित श्रीसन फार्मास्युटिकल्सद्वारा उत्पादन गरिएको थियो, जसको बिक्री छिन्दवाडा र आसपासका बजारहरूमा गरिएको थियो।
तमिलनाडु औषधि नियन्त्रण विभागको प्रतिवेदनअनुसार कम्पनीले उत्पादन गरेको सिरपको एक ब्याचमा ४८.६ प्रतिशत डाइथिलिन ग्लाइकोल फेला परेको छ। यही विषाक्त रसायनले यसअघि गाम्बिया, उज्बेकिस्तान र भारतकै विभिन्न स्थानमा बालबालिकाको मृत्यु गराएको इतिहास छ।
सो प्रतिवेदन सार्वजनिक भएपछि मध्य प्रदेश औषधि नियन्त्रण विभागले अक्टोबर ४ मा “कोल्ड्रिफ” खोकी सिरप बिक्री र प्रयोगमा प्रतिबन्ध लगाएको थियो।
यसबीच, प्रहरीले सरकारी डाक्टर प्रवीण सोनी, श्रीसन फार्मास्युटिकल्सका सञ्चालकहरूसहित अन्य सम्बन्धित व्यक्तिहरू विरुद्ध एफआईआर दर्ता गरेको जनाएको छ। बीबीसीबाट











प्रतिक्रिया