भारतीय बैंकले अब नेपालीलाई पनि ऋण दिन सक्ने


काठमाडौं ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले अब नेपाल, भुटान र श्रीलंकाका नागरिक तथा कम्पनीहरूलाई पनि भारतीय रुपियाँमै ऋण दिन सक्ने व्यवस्था गरेको छ ।

आरबीआईले अघिल्लो बुधबार यस्तो नीति कार्यान्वयनका लागि तयारी भइरहेको जानकारी दिएको थियो । यससँगै भारतीय बैंकहरूले आफ्ना त शाखामार्फत तीन देशका बासिन्दालाई भारतीय रुपियाँमा कर्जा उपलब्ध गराउन सक्नेछन् ।

वित्तीय विश्लेषकहरूले यो कदमलाई भारतले आफ्नो मुद्रालाई अन्तर्राष्ट्रियस्तरमा प्रयोगमा ल्याउने रणनीतिक प्रयासको रूपमा हेरेका छन् । उनीहरूका अनुसार यसले नेपालको लगानी वातावरणमा नयाँ स्रोत थप्नेछ, तर विदेशी मुद्रा बहिर्गमन र नियामक चुनौती पनि बढाउन सक्छ । साथै ठूला पूर्वाधार आयोजनामा वैकल्पिक पुँजीका ढोका खोल्नेछ र ब्याजदरमा प्रतिस्पर्धा बढाउने छ ।

नेपालमा यो सुविधा लागू भए विदेशी मुद्रा अभाव हुँदा पनि नेपालको अन्तर्राष्ट्रिय व्यापार निरन्तर रहन सहयोग पुग्नेछ। यद्यपि, धितो, ब्याजदर र ग्यारेन्टी प्रक्रिया जटिल हुनसक्ने भन्दै कार्यान्वयनमा आंशका गरिएको छ । नेपाल राष्ट्र बैंकले सन् २०२१ मै विदेशी बैंकबाट ऋण लिने कानूनी ढोका खोलेको भए पनि भारतको यो नीति छिमेकी मुलुकबीचको आर्थिक सहकार्यमा नयाँ अध्याय बन्न सक्ने विश्लेषकहरूको मत छ ।