सुनको भाउ आकासिँदा बजारमा अभाव, माग उच्च


काठमाडौँ ।

सुनको मूल्य दिनदिनै बढ्दै जाँदा नेपाली बजारमा अभाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष मणिकत्न शाक्यका अनुसार, हाल बजारमा सुन र चाँदी दुवैको आपूर्ति घटेको छ।

दैनिक २० किलो मात्र सुन आयात गर्न पाइने कोटा र बढ्दो मागका कारण बजारमा सुन पाउन कठिन भएको शाक्यले बताएका छन्। मूल्य बढ्ने आशा, लगानीको रुचि र विवाहको सिजन सुरु हुँदा माग झनै बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार डलर नाघिसकेको छ। विश्व राजनीतिक अस्थिरता, युद्धको प्रभाव, र सुरक्षित लगानीको खोजीले भाउ चुलिएको विश्लेषण गरिएको छ।

यदि विश्व राजनीतिक स्थायित्व फर्कियो भने भाउ घट्न सक्ने पूर्वानुमान गरिएको छ।