संक्रमणकालमा नागरिकको कर्तव्य

846
Shares

वि.सं. २०७२ देखि २०८२ सम्म १० वर्षको अवधिमा १० नै जना प्रधानमन्त्री फेरिएछन् ! कतिपय दोहोरिएर, तेहेरिएर ! यति सुन्दर र शान्त देशमा यसरी बारम्बार सत्ता किन परिवर्तन भयो त ? उत्तर प्रस्टै छ– यहाँ जे भयो, सत्ताकै लागि भयो । सकेसम्म सत्ताबाहिर कोही पनि बस्नै चाहेनन् । यहाँ कुनै पनि पार्टीको सिद्धान्त, विचार वा दर्शन केही पनि देखिएन । देखावटी केही भएको भए त्यो पनि सत्ताप्राप्तिका क्रममा सकियो ।

त्यसैले सुविधाभोगी र यथास्थितिवादी पक्ष सत्ताविमुख भएको यो अवस्थामा फेरि पनि सत्ता प्राप्त गर्न अझै यहाँ जुनसुकै दुष्प्रयास हुन सक्छ । ओरालो लागेको मृग उकालो पनि चढ्न सक्छ । यस्तो आशङ्का किन पनि सही लाग्छ भने, जेनजी विद्रोहपछि अझै, ७० वर्ष कटेका देउवा, दाहाल, ओली कोही पनि भित्री मनबाटै प्रमुख पद छोड्न तयार देखिएका छैनन् ! देशैभरि उनीरूका अघिपछि लाग्न र ताली पड्काउन तयार लोभीपापी कार्यकर्ता अझै पनि छँदै छन् ।

राजनीतिकै विकृत र घृणित रूपका कारण यतिखेर समग्र देशमा सामाजिक तनाव छ । अनेक भ्रष्टाचार, काण्ड र कमिसनका कुरा हामी सबैका दिमागमा आउँछन् । अन्याय, अत्याचारका कुराले टाउको दुखाउँछन् । अराजकता र दण्डहीनताले बेचैन बनाउँछन् । अझ उपलब्धिपूर्ण मानिएको जेनजी आन्दोलनका क्रममा निर्दोष नेपाली छोराछोरीको हत्या र ऐतिहासिक सम्पदाको विनाशले टोलाइरहन मन लाग्छ । सोही आन्दोलनताका भागेका कैदीबन्दीले ठाउँ–ठाउँमा गरेका हर्कत र प्रहरीको गिर्दो मनोबल, समाजका लागि थप त्रास र टाउको दुखाइका विषय बनेका छन् ।

त्रास र टाउको दुखाइको विषय सामान्य जनतामा मात्र सीमित छैन । यसले हाम्रा उद्यमी–व्यवसायीहरूलाई पनि नराम्ररी तर्साएको छ । उत्पादन नभई देशमा आर्थिक विकास हुँदैन । त्यसका लागि उद्यमी चाहियो । हामीलाई थाहै छ, हाम्रो देशमा उद्योगधन्दाको अवस्था ज्यादै दयनीय छ । यस्तो अवस्थामा, मध्यम वर्गकै पक्षमा उल्लेख्य योगदान गरेर नेपाली अर्थतन्त्रलाई चलायमान बनाइरहेका मीनबहादुर गुरुङजस्ता केही उद्यमी–व्यवसायीहरूलाई रुवाइएको छ । यसको अर्थ भोलिका दिनमा कोही नेपालीले ‘म यही देशको माटोमा केही गर्छु’ भन्ने सोचका साथ कृषि, पशुपालन वा फलफूल खेती गरेर रमाउन खोज्दा पनि उसले ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्न नसक्ने भयो ! यो अवस्थामा, आफ्ना सन्तानलाई विदेश पठाएर कति–कति बेला पछुतोजस्तो मानिरहेका आमाबाबु ‘राम्रो काम गरिएछ’ भन्न थालेका छन् ।

कमजोर भएपछि सबैले हेप्छन् । सुन्दर कुरा सबैले प्राप्त गर्न चाहन्छन् । हाम्रो देश कमजोर र सुन्दर दुवै भएकोले यो विदेशीको हेपाइ र आकर्षणमा पर्ने गरेको छ । हरेक हिसाबले कमजोर भएको यो अवस्थामा विदेशीको चासो झन् बढ्ने नै भयो । यसरी हेर्दा, मुलुक यतिखेर एउटा ठूलो सङ्क्रमणकालीन घेरामा फसेको छ । संक्रमणकालको यस्तो क्षणमा अस्थिरतालाई आफ्नै स्वार्थका लागि उपयोग गर्नेहरूको कमी हुँदैन । यहाँ नातावाद, स्वार्थवाद र सत्ता–लोभमा डुबेका राजनीतिक पात्रहरू मात्रै छैनन्, बाहिरबाट हस्तक्षेप गर्न चाहने विदेशी शक्तिहरू पनि छन् । उनीहरूको लागि नेपालमा अस्थिरता सुनौलो अवसर हो । किनभने अस्थिरताले मात्र बाह्य हस्तक्षेपलाई वैधानिक औचित्य दिन्छ । त्यसैले अहिले देशभक्त नागरिकहरूले बुझ्नै पर्ने कुरा के हो भने, हिंसा, द्वन्द्व र धार्मिक उक्साहटले अन्ततः देशलाई नै कमजोर बनाउँछ ।

वैदिक सनातन परम्परा नेपालको पहिचान र सत्य हो । तर यसलाई बिगार्न र बिथोल्न पहिल्यैदेखि नै प्रयास भइआएको छ । खासगरी, पैसाको बलमा क्रिश्चियानिटी फैलाउने काम जारी छ । मौकाको फाइदा उठाएर धर्मको नाममा आन्दोलन गराउने प्रयास अहिले बढ्दो छ । स्मरणीय छ– कुनै पनि समाजमा धर्म सबैभन्दा संवेदनशील विषय हो । आस्थासँग जोडिएको विषयलाई राजनीतीकरण गर्न सजिलो हुन्छ, तर त्यसको परिणाम अत्यन्त खतरनाक हुन्छ ।

अधिकांश नेपालीको माग हिन्दूराज्य पुनःस्थापना गर्ने छ । तर यो मागलाई विदेशीहरूले आफ्नो रणनीतिअनुसार हाइज्याक गर्न सक्छन् । त्यसपछि नेपाल धार्मिक द्वन्द्वको भट्टीमा जल्न सक्छ र त्यसको सम्पूर्ण दोष पनि हिन्दू समुदायमाथि नै थोपरिन सक्छ । इतिहासले धेरै पटक देखाइसकेको छ– धर्मलाई आन्दोलनको एजेन्डा बनाउने क्षणदेखि नै समाज टुक्रिन थाल्छ । त्यसैले आजको बुद्धिमानी के हो भने, धर्मलाई चुपचाप धर्मकै रूपमा मनमा राखौँ । यसलाई राजनीतिक स्वार्थको हतियार बनाउन नदिऔँ । विश्वासलाई जगाइराखौँ । कुनै दिन सम्पूर्ण नेपालीको मनले सनातन हिन्दू धर्मको महत्ता बुझेछ भने धर्मका नाममा संविधानमा जे लेखिएको भए पनि के फरक पर्छ र !

देशमा कुनै पनि सङ्कट आएको बेलामा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । युवाशक्ति परिवर्तनको अग्रदूत हो भन्ने कुरामा विवाद छैन । तर युवाको ऊर्जा विवेकविना प्रयोग भयो भने, त्यो विनाशकारी शक्तिमा परिणत हुन्छ । आजको पुस्ता, जसलाई जेनजी भनिन्छ, ऊ धेरै उत्साही छ, चञ्चल छ र केही फरक गर्न चाहन्छ । यो सकारात्मक गुण हो । त्यसमा केही कमी–कमजोरी वा अपरिपक्वता हुन सक्छन्, त्यो आफ्नै ठाउँमा छ । तर यही गुणलाई स्वार्थी तत्वहरूले आफ्नो लक्ष्यमा प्रयोग गर्ने खतरा अझ बढी हुन्छ । आन्दोलनका नाममा उग्रतामा धकेलिएका युवाहरूले जे पनि गर्न सक्छन् ।

त्यस्तो भएमा त्यो आन्दोलनले परिवर्तन होइन, अराजकता मात्र उत्पादन गर्छ । यसपटक आन्दोलनमा पनि त्यस्तो भएकै हो । त्यसैले युवाहरूले पनि सोच्न जरुरी छ– ‘के म कसैको खेलौना या हतियार त बन्दै छैन ? मेरो साहस र आवेगको फाइदा त कसैले उठाउँदै छैन ?’

यसै सन्दर्भमा अर्को खतरनाक खेल हो– सुरक्षा निकायलाई कमजोर पार्ने । कुनै पनि राष्ट्रको मेरुदण्ड सेना, प्रहरी र सशस्त्र हुन् । यिनै संस्थालाई कमजोर देखाउने, जनताको विश्वास घटाउने वा विभाजन ल्याउने प्रयास हुन्छ भने त्यो ठूलो षड्यन्त्र हो । किनभने सुरक्षा संरचना कमजोर भयो भने राज्यको संरचना नै ढल्छ । त्यसपछि विदेशी हस्तक्षेपलाई रोक्ने आधार नै हामीसँग रहँदैन । त्यसैले असन्तोष व्यक्त गर्दा वा आफ्ना कुनै माग राख्दा पनि नागरिकले आफ्नो सुरक्षा निकायमाथि अविश्वास फैलाउने वा उनीहरूलाई निकम्मा ठह¥याउने काम गर्नै हुँदैन । आलोचना आवश्यक छ, तर त्यो आलोचना जिम्मेवार ढंगको र सुझबुझपूर्ण हुनुपर्छ ।

विषम परिस्थितिबाट देश गुज्रिरहेको यो अवस्थामा हामी नागरिक समाजले के गर्ने त ? स्वाभाविकरूपमा यो प्रश्न उठ्छ । जवाफ सजिलो नभए पनि स्पष्ट छ– अहिलेको सबभन्दा ठूलो काम धैर्य र सावधानी अपनाउनु हो । कुनै पनि देशको सङ्क्रमणकालीन अवस्था लामो समयसम्म टिक्दैन । यो केही महिनामै स्थिर सरकार निर्माणतर्फ जानुपर्ने प्रक्रिया हो । त्यसैले यो बेलामा कम्तीमा ६ महिनासम्म हामी सबैले संयमपूर्वक शान्त वातावरण बनाइदिन सक्यौँ भने, स्थायी सरकारले जन्म लिन्छ । त्यसपछि मात्र हरेक नागरिक, हरेक समूहले आफ्ना मागहरू संस्थागत तरिकाले अघि सार्न सक्छन् । नेपाली जनजनका मनमा हलुका महसुस हुन थाल्छ ।

यसबीचमा हामीले हतार ग¥यौँ भने परिणाम अकल्पनीय हुन सक्छ । एउटा आन्दोलनले मुलुक छियाछिया भएको छ । यही बेलामा अर्को हतारको आन्दोलन, हिंसात्मक विद्रोह वा धार्मिक उक्साहटले मुलुकलाई दीर्घ सङ्कटतर्फ धकेल्न सक्छ । हाम्रो आर्थिक जीवन थप तहसनहस हुन्छ, सामाजिक मेलमिलाप भङ्ग हुन्छ र राजनीतिक स्थायित्व टाढिन्छ । राष्ट्रकै अस्तित्व पनि खतरामा पर्न सक्छ । त्यसैले अहिलेको सच्चा देशभक्ति भनेको धैर्यपूर्वक र शान्तिपूर्ण तरिकाले सङ्क्रमणकाल पार गर्न सहयोग गर्नु हो । यतिखेर हामी पाण्डवहरू गुप्तवासमा बसेजस्तो अवस्थामा छौँ ।

यति बेला हामी नागरिकको जिम्मेवारी यहाँ अत्यन्त महत्वपूर्ण छ । यसमा पहिलो, कुनै पनि कुराको अफवाह नफैलाऔँ । सामाजिक सञ्जालमा असत्य सूचना वा उत्तेजक सामग्री फैलाउने कामले केवल विष छर्छ । दोस्रो, कुनै पनि हिंसापूर्ण गतिविधिमा सहभागी नहोऔँ । कुनै असन्तुष्टि भए त्यसलाई शान्तिपूर्ण ढंगले व्यक्त गरौँ । यो सरकारले पक्कै पनि सुन्छ । तेस्रो, लोकतान्त्रिक प्रक्रिया र कानुनी मार्गलाई प्राथमिकता दिऔँ । मतपत्रमार्फत आफ्ना विचार राख्न सकिन्छ; ढुङ्गा–लाठीमार्फत होइन ।

त्यसै गरी, नेतृत्वकर्ताको कर्तव्य त अझ गहिरो हुन्छ नै । पालो सकिएका पुरानाको त के आश ! नयाँ नेताका रूपमा भविष्यसम्म आफूलाई स्थापित गर्न चाहने नेताको यतिखेर ठूलो कर्तव्य र जिम्मेवारी छ । रातारात लोकप्रिय बन्ने नाममा विभाजनकारी भाषण, उत्तेजक नारा र भडकाउ क्रियाकलापले देशलाई लाभ गर्दैन । अहिले नेतृत्वकर्ताले जिम्मेवारीपूर्वक संवाद, पारदर्शिता र सहिष्णुताको अभ्यास गर्न सकेनन् भने उनीहरूको नेतृत्व तुरुन्तै असफल ठहरिनेछ । साँचो नेतृत्व त्यही हो जसले सङ्कटको घडीमा नै विवेकपूर्ण बाटो देखाउन सक्छ ।

यति बेला ठूला–ठूला परिवर्तनको आशा पनि गर्न सकिँदैन । सङ्क्रमणकाल पार गरेपछि मात्रै दीर्घकालीन नीति सम्भव हुन्छ । स्थायी सरकार बनेपछि मात्र न्यायिक स्वतन्त्रता, पारदर्शी निर्वाचन प्रक्रिया, युवालाई रोजगारीमा संलग्न गर्ने योजना र सुरक्षा संरचना सुधारजस्ता महत्वपूर्ण काम अघि बढाउन सकिन्छ । अहिले धैर्य अपनाउनु भनेको भविष्यमा यी सम्भावनालाई सुरक्षित गर्नु हो ।

निष्कर्षमा भन्नुपर्दा, देश अहिले एउटा नाजुक दोबाटोमा छ । एकातिर यो बेलामा हिंसा, उग्रता र धार्मिक द्वन्द्वतर्फ जान एकदमै छिटो र सजिलो छ– जसको अन्त्य विनाशमा हुन्छ । अर्कातिर हामी धैर्य, विवेक र संयम अपनाएर शान्तिपूर्णरुपमा सङ्क्रमण पार गर्न सक्छौँ, जसको अन्त्य स्थायित्व र प्रगतिमा हुन्छ । हामी दोस्रो विकल्पमा अडिग रहनेछौँ ।
हामी प्रत्येक देशभक्त नागरिकमा यतिखेर एउटा असल कर्तव्य पूरा गर्ने सुनौलो मौका आएको छ । यो मौकामा हामीले निर्वाह गर्नुपर्ने कर्तव्य एउटै छ– शान्त रहौँ, सचेत बनौँ, विवेक प्रयोग गरौँ, धैर्य अपनाऔँ ं। यही नै अहिलेको सच्चा देशभक्ति हो । यही नै राष्ट्रप्रति हाम्रो सच्चा योगदान हुनेछ ।