काठमाडौँ।
आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार राति भएको समूह चरणको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ रनको फराकिलो जित निकालेको हो। जितसँगै नेपालले अंक तालिकामा महत्वपुर्ण २ अंक जोड्दै शीर्ष स्थानमा छ।
नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रन बनाउँदा अलआउट भयो।
कुवेतमाथि जित निकाल्न सन्दीपसहित कप्तान रोहित पौडेल र ललित राजवंशीले समान २ विकेट लिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान एक विकेट आफ्नो नाममा गरे।
कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले बनाएको २६ रन नै सर्वाधिक रह्यो। यासिन पटेलले १९ र मति भास्करले ११ रन बनाए।
त्यसअघि ओमानको अल एमिरेट्स क्रिकेट मैदान टर्फ १ मा कुवेतले टस जितेर फिल्डिङ रोेजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
दीपेन्द्र सिंह ऐरीले २० रन बनाउँदा रन आउट हुन पुगे। गुल्सन झा २० रन बनाउँदा अनुदिप चेन्थामाराको बलमा बोल्ड आउट भए।
कप्तान रोहित पौडेल १६ रन बनाउँदा क्याच आउट हुन पुगे। सन्दीप जोराले ५ र कुशल मल्ल ४ रन बनाउँदै आउट भए।
सोमपाल कामी १ र नन्दन यादव २ रनमा अविजित रहे। नेपालले अन्तिम ओभरमा २ विकेट गुमाएको थियो।
कुवेतका लागि नवीनराज राजेन्द्रनले २ विकेट लिए। मोहम्मद आकिफ फारुक, अनुदिप र मोहम्मद अस्लामले समान एक विकेट आफ्नो नाममा गरे।
नेपाल रहेको समूह बी मा कुवेतसँगै जापान छन्। समूह ए मा मलेसिया, कतार र युएई छन्। समूह सी मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।
एसिया एण्ड इष्ट एसिया छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
समूह चरणको दोस्रो खेलमा नेपालले शुक्रबार जापानविरुद्ध खेल्ने तालिका छ।











प्रतिक्रिया