हमासको कब्जामा रहेका विपिनको पुरानो भिडियो सार्वजनिक

गाजामा शान्तिको झिल्को, युद्ध अन्त्यका लागि इजिप्टमा शान्तिवार्ता जारी

2.63k
Shares


सरस्वती कर्माचार्य, काठमाडौं


इजरायली गुप्तचर निकायले फेला पारेको हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको नयाँ भिडियो अपहरणमा परेको दुई वर्षपछि बुधबार राति सार्वजनिक भएको छ । बुधबार राति झण्डै ११ बजे विपिनको परिवारद्वारा सार्वजनिक गरिएको उक्त भिडियो विपिन अपहरणमा परेको एक महिनाको आसपास अर्थात सन् २०२३ को नोभेम्बरमा गाजा क्षेत्रमा खिचिएको अनुमान गरिएको छ । उक्त भिडियोलाई हमासको बन्धकमा रहेका बिपिन जिवितै रहेको संकेतको रुपमा लिइएको छ । यो भिडियोलाई विपिनको वास्तविक अवस्था खुलाउने प्रमाणको रुपमा लिन नसकिए पनि विपिन जिवितै रहेको अनुमान गरिएको छ ।
भिडियोमा बिपिनले “म बिपिन जोशी, नेपालबाट आएको । म २३ वर्षको भएँ । म इजरायल २५ दिन अघि आएको हुँ । म अर्न एण्ड लर्न कार्यक्रममा आएको हुँ । म कृषि फार्म काम गर्छु” भनेका छन्।
विपिन सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आतंकबादी आक्रमणका क्रममा अपहरणमा परेका थिए । १२ सय जनाको ज्यान जानेगरी भएको उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको पनि ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए । त्यसपछि शुरु भएको इजरायली प्रत्याक्रमणले गाजालाई भग्नावशेषमा बदलिदिएको छ भने हजारौंले ज्यान गुमाइसकेका छन् ।
यो भिडियो गाजा क्षेत्रमा शान्ति स्थापनाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इजिप्टमा चलिरहेको अप्रत्यक्ष शान्तिवार्ताको पृष्ठभूमिमा सार्वजनिक भएको हो । गत सोमबारदेखि इजिप्टको शार्म एल–शेखमा इजिप्ट, कतार र अमेरिकी मध्यस्थतामा इजरायल र हमासका प्रतिनिधिहरुबीच शान्तिवार्ता जारी छ । अहिले संवेदनशील र निर्णायक मोडमा पुगेको उक्त शान्तिवार्ताले गाजामा शान्तिको झिल्को दिएको छ । अमेरिकी विशेष दूत स्टीभ विटकोफले वार्ताको वातावरण पहिलेभन्दा बढी रचनात्मक र सकारात्मक भएको बताएका छन् । हमासले बन्धकको सट्टामा इजरायलले छाड्नुपर्ने हमास नेताहरुको नामावली इजरायललाई बुझाएको छ । यद्यपी वार्ता सफल हुन अझै कडा चुनौती बाँकी नै छ ।
वार्तामा इजरायली जेलमा रहेका हमासका नेता तथा सदस्यहरु र हमासको बन्धकमा रहेकाहरुको आदानप्रदान, गाजाको प्रशासनिक पुनर्संरचना, इजरायली सेनाको चरणबद्ध फिर्ता जस्ता विषयहरुमा छलफल जारी छ । ट्रम्पको प्रस्तावमा पूर्ण युद्धविराम, मानवीय सहायता तथा राहतको पहुँच र स्वतन्त्र गाजा प्रशासन गठनको खाँका अघि सारिएको छ । अरु विषयमा प्रगति भए पनि इजरायलले माग गरेको पूर्ण हतियार त्याग र सुरक्षाको प्रत्याभूतिबारे भने अझै सहमति हुन बाँकी छ । हमासले पनि इजरायलसँग स्थायी युद्धविरामको लिखित प्रत्याभूति माग्न अमेरिकी विशेष दूतसँग अनुरोध गरेको छ ।