हेलिकप्टरको व्यवस्था हुन नसक्दा विदेशी पर्यटक लुम्नाङमा रोकिए 

5.17k
Shares

दोलखा। 

दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ मा पर्ने लामाबगर– लप्ची सडक खण्डको देउराली भन्ने ठाउँमा मंगलवार बिहान सुख्खा पहिरो गएर सडक अवरुद्ध भएपछि चार जना विदेशी पर्यटक सहित ९ जना लुमनाङमा रोकिएका छन् । उनीहरु लप्ची गुम्बाको भ्रमणबाट फर्किएका हुन् । 

पैदल आउन समेत जोखिम रहेकोले उनीहरु मंगलवार विहानैदेखि लुमनाङको इलुकमा रहेको नासा हाईड्रो पावरको क्याम्पमा रोकिएको हाईड्रो पावरका प्रशासन प्रमुख हेमराज तमाङले बताए । इलुक क्याम्पमा चार जना विदेशी पर्यटक, दुई जना उनीहरुको गाईड र तीन जना भरिया रहेको र उनीहरुलाई नासा हाईड्रो पावरले खाने– वस्ने व्यवस्था गरिदिएको तमाङले बताए । पहिरो गएको देउरालीबाट लुमनाङ १५ किलोमिटर माथि रहेको छ । 

पहिरोका कारण लुमनाङको इलुकमा रोकिएका विदेशी पर्यटकहरुमा रसियाका एलना सकारबुओ (पासर्पोट नम्बर– ७७२९४४३५) र पावेल ससकिन (पासर्पोट नम्बर– ७६७७५२३८२) तथा स्वीटरजरल्याण्डका योलिया सोसिडोभा (पासर्पोट नम्बर– ह्इप्९१ह्६३) र टेमोफी डेनिसोभ (पासर्पोट नम्बर– ह्इन्८३व्इ७) रहेका छन् ।

उनीहरुले भिसा अवधि समेत सकिन लागेको र बिहीबार आफ्नो देशमा फर्कनु पर्ने बताएको तर पहिरोका कारण उनीहरुलाई लामाबगर निस्कन समस्या भएको तमाङको भनाई छ । उनीहरुले हेलिकप्टर चार्टर गरेर भएपनि काठमाडौँ जान चाहेको तर त्यो पनि सम्भव नभएको नासा हाईड्रो पावरका प्रशासन प्रमुख तमाङले बताए । बिहीबार विहानसम्म पनि हेलिकप्टरको व्यवस्था हुन नसके उनीहरुलाई पैदलनै उद्दारको प्रयास गरिने तमाङको भनाई छ ।

दोलखाको प्रमुख जिल्ला अधिकारी भोला दहाल पहिरोका कारण विदेशी पर्यटक लुमनाङमा रोकिएको जानकारी आएपछि हेलिकप्टर व्यवस्थापनको लागि प्रयास भइरहेको र सकेसम्म बिहीबार बिहान उद्धार गरी गन्तव्यसम्म पठाउने व्यवस्था हुने बताउँछन् ।