जाँचबुझ आयोगद्वारा अपराधको अनुसन्धान गर्न बाटो खुला


काठमाडौं ।

जेन–जी प्रदर्शनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले फौजदारी कसूरमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ । यससँगै सरकारलाई भदौ २३ र २४ गते भएका सबै खाले अपराधका घटना छानबिन गरी दोषीउपर कारबाही गर्न सक्ने बाटो खुला भएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गरेर ९ असोज, २०८२ को गृह मन्त्रालयको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । त्यो दिन गृह मन्त्रालयले जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले भदौ २३ र २४ को घटनाबारे तत्काल अनुसन्धान अघि नबढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो । तर, जाँचबुझ आयोगले नियमित फौजदारी अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन नपर्खन सुझाव दिएको छ ।

आयोगका सदस्य विज्ञानराज शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ– ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।’