गत भदौ २३ र २४ गते भएको विरोध प्रदर्शन र धनजनको क्षतिबाट अहिले मुलुक अप्ठेरो स्थितिमा फसेको छ । यथास्थितिवादी शक्तिहरू सत्ताबाट बाहिरिएका छन् । परिवर्तनकारी भनिएका जेनजी युवाहरूको समर्थनमा सडकबाट बनेको सरकार शंकोच, अलमल र आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने दायित्वको त्रिवेणीमा फसेको जस्तो देखिएको छ । राजावादी शक्तिहरू जेनजी युवाहरूको अगुवाइमा अहिले भएको परिवर्तनकै जगमा टेकेर संवैधानिक राजतन्त्रको पुनस्र्थापनाको मागलाई अगाडि सारिरहेका छन् ।
परिवर्तनका पक्षधर भनिएका जेनजी युवाहरूका तात्कालिक कार्यनीतिहरू घोषित भए पनि दीर्घकालीन सोच र विकास निर्माणको खाका उनीहरूसँग छैन । उनीहरूसँग नेतृत्व र संगठनको समेत अभाव रहेको अवस्था छ । उनीहरूको प्रभाव काठमाडौं उपत्यका र बाहिरका शहरी केन्द्रमा रहेको भए पनि गाउँ–गाउँमा संगठन पुगेको अवस्था छैन । यथास्थितिवादी दलहरूले जेनजीहरूले देशका राष्ट्रिय सम्पदामा आगो लगाएको र लुटपाट मच्चाएका हुन् भन्ने भाष्य निर्माण गरेर ग्रामीण भेगका जनतामा उनीहरूको आपराधिक छवि प्रस्तुत गरेको अवस्था पनि छ ।
जेनजीहरू आफ्ना एजेन्डाहरू लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छाउनुमा मात्र सीमित भएका छन् तर अहिलेसम्म जनतालाई प्रत्यक्षरूपमा सम्बोधन गरेर अगाडि बढ्ने र आफ्ना एजेन्डाहरूलाई जनताका माझ पु¥याउने काम गर्न सकेका छैनन् । यस्तै अवस्थाबाट परिवर्तनका पक्षधर देखिएकाहरूले यथास्थितिवादी दलहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने देखिन्छ ।
राजनीतिमा सबैभन्दा ठूलो कुरा भनेको विश्वसनीयता हो । परिवर्तनकारी शक्तिप्रति हाल जनताको सहानुभूति भए पनि उनीहरूले जनताको विश्वास आर्जन गर्न भने बाँकी नै छ । उनीहरूले अगाडि सारेका एजेन्डाहरू जनताका दृष्टिमा आकर्षक नै भए पनिउ नीहरूको विश्वसनीय नेतृत्वको अभावले गर्दा निःसर्तरूपमा जनता उनीहरूको पक्षमा उभिन हिचकिचाइरेका छन् । जेनजीको समर्थनमा बनेको सरकारले परिवर्तनको अनुभूति हुने गरी कुनै काम देखाउन नसकेको दोषको भारी पनि परिवर्तनकारी शक्तिका भागमा नै पर्न जाने भएको छ ।
अब यथास्थितिवादी शक्तिहरूको बारेमा पनि केही विवेचना गरौं । यसमा मुख्यरूपमा कांग्रेस, एमाले र माओवादी दलहरू पर्दछन् । यी दलका नेताहरू पटक–पटक सत्तामा पुगेर के–कस्ता काम गरे भन्ने अहिलेसम्म जनताको स्मरणमा ताजै छ । यिनीहरू आलोपालो गर्दै सत्तामा पुगेर आफ्ना परिवारका लागि, आफ्ना आसेपासेका लागि, आफ्नो क्षेत्रका लागि राज्यको स्रोतको दोहन गरेर देशमा भ्रष्टाचार मौलाउने काम गरेको विगतले गर्दा जनता यिनीहरूको पक्षमा लाग्ने कुनै आधार देखिँदैन ।
यिनीहरूको आलिशान जीवन शैली, जनविश्वासमा भन्दा पैसा खर्चिएर चुनाव जित्ने शैली, विभिन्न नाममा राज्यको ढुकुटीमा चलाएको ब्रह्मलुट सबैका आँखाअगाडि नै छ । सत्ता र शक्तिको आडमा आफ्नो स्वार्थ पूरा गर्न बजेट विनियोजन गरी आवश्यकताभन्दा लहडको भरमा गरेका निकम्मा खर्चहरू पनि जनताको आँखाबाट ओझेल परेका छैनन् । कालो सम्पत्ति खर्चिएर बनाइएका नेताका आकर्षक निवासहरू तथा महँगा सवारीसाधनहरू र सामन्ती व्यवहारहरू देखेर जनता वाक्कदिक्क भएका छन् । राज्यका सबै निकायहरूमा आफ्ना चम्चाहरू भर्ना गरी एकछत्र निरंकुशता लादेर अविच्छिन्न शासन गर्ने तानाशाही सोच सबैका सामु छर्लङ्ग भएको छ ।
सक्षम र योग्य व्यक्तिहरूलाई पाखा लगाएर अयोग्यहरूलाई पद दिलाउने परिपाटीले जरा गाडिसकेको छ । देशभित्र काम गरेर शिक्षा हासिल गर्न र स्वास्थ्योपचार गराउन असम्भव भएको अनि रोजगारी पाउनै पनि हम्मेहम्मे पर्ने भएपछि युवा जनशक्ति लाखौंको संख्यामा विदेशिन बाध्य भएका छन् । चेतनशील र जागरुक युवाशक्ति नै बाहिरिएपछि सत्ताका नायकहरूलाई मनपरि गर्न अझ सहज भएको थियो । यी सबै कुरालाई पुष्टि गर्न यसपटकको विरोध प्रदर्शनको क्रममा देखिएका नेताहरूका निवासहरू, सवारीका साधन एवम् शेरबहादुर देउवाको निवासमा भेटिएका नेपाली तथा विदेशी मुद्राका नोटहरूका बिटा नै पर्याप्त उदाहरण भएका छन् ।
यस्तो अवस्थामा कुनै स्पस्ट दिशाबोध नभएका पुरानै शैलीका थोत्रा कुरा गर्न यथास्थितिका पक्षधर शक्तिहरू अहिले पनि छाडेका छैनन् । एक्कासी सत्ताच्युत हुनुपर्दाको छटपटी विभिन्न नारा र रूपमा प्रकट हुँदै छन् । कोही खरानी टकटक्याएर उठ्छौं भन्दै छन् । कोही एक जमानाका प्रसंग नै नमिल्ने कविताका पंक्तिको पासो फालेर पुनरागमनको पासो थाप्न खोज्दै छन् । कोही चुनौतीमा टेकेर उभिने बाचा गर्दै छन् । कोही विगतका गल्ती, कमजोरीको निर्ममतापूर्वक समीक्षा गरेर अगाडि बढ्नुपर्ने भाषणलाई आफ्नो सुरक्षा कवच बनाउन खोज्दै छन् । यी सबै गोलमटोल कुराभित्र परिवर्तनको तत्परता केही पनि देखिँदैन । उनीहरू अहिले पनि आफूलाई परिवर्तन गर्ने होइन, अरूलाई नै आफू अनुकूल परिवर्तन गराउने प्रयत्नमा नै लागिरहेका छन् । अहिलेको परिस्थिति उत्पन्न भएकोमा कुनै मनुवा पनि जवादेहिता लिन तयार देखिएका छैनन् ।
केही–केहीले आफ्नो दलभित्र दलको नेतृत्व परिवर्तनको कायरतापूर्ण आवाजसम्म उठाइएको भए पनि त्यसलाई निर्णायक बनाउने साहस र तत्परता कसैले पनि देखाउन सकेको पाइँदैन । सबैजना विगतका दुष्कर्महरूमा पानीमाथिको ओभानो बन्न खोज्दै छन् तर जनता उनका यस्ता कुरा पत्याउन तयार छैनन् । गलत तरिकाले दलको नेतृत्व गर्नेलाई दण्डित गर्नेतर्फ त आवाज नै मात्र पनि उठाउन सकेका छैनन् ।
यसपछिको विवेचना गर्नुपर्ने अर्को शक्ति भनेको राजावादी शक्ति हो । यो शक्ति विभिन्न दल र अभियानमा बाँडिएर रहेको छ । विचार एउटै भए पनि उनीहरू एक–अर्कालाई निषेध गर्ने दाउमा छन् । उनी एक–अर्काको नेतृत्वलाई स्वीकार गर्ने अवस्थामा पनि छैनन् । राजावादी शक्तिमा त झन् पञ्चायती राजनीति गरेकै व्यक्तिहरूको नेतृत्व र दबदबा रहेको छ । उनीहरूसँग पनि संवैधानिक राजतन्त्रको माग गर्नेबाहेक देश र जनताको समुन्नति गर्ने खाका र सोच प्रस्टताका साथ आउन सकेको छैन । यसमा उनीहरूको उपरी संचनाको खाका मात्र छ । बहुदलीय र गणतान्त्रिक व्यस्थामा दलका नेताहरूले देखाएका दुष्कर्महरूको विरोध वा आलोचनाले मात्र जनता आकर्षित हुने देखिँदैन ।
राजा ल्याउनका लागि भनेर गरिएको कथित निर्णायक नै तुहिन पुगेपछि किनारा लागेका राजावादीहरू भदौ २३ र २४ को घटनापछि फेरि आफ्ना माग दोहो¥याउन लागेका छन् । राजा स्वयं दलीय सहमतिबेगर सक्रिय राजनीतिमा नआउने निचोडमा पुगिसकेको अवस्थामा आफूलाई सर्वशक्तिमान् मान्ने दलका नेताले त्यस्तो सहमति दिएर राजतन्त्रको पुनरागमन गराउने काम गर्लान् भन्ने कुरामा विश्वास गर्न सकिने कुनै आधार पनि देखिँदैन । राजावादी भनेर आफूलाई चिनाउने शक्तिहरू केवल आफू राजाको निकट हुने वा राजालाई आफ्नो निकटमा राख्ने चाहना मात्र प्रदर्शन गरिरहेको जस्तो देखिन्छ । राजाको आवश्यकता देख्ने नेताहरूको कार्यशैली र स्वयं राजा ज्ञानेन्द्रको सक्रिय शासन देखेका–भोगेका मानिसहरूले राजा पुनः संवैधानिक भएर फर्के पनि कुनै चमत्कार हुनेछैन भन्ने राम्ररी बुझेकाछन् ।
नेपालको वर्तमान राजनीतिक परिदृश्यमा देखिएका यी तीन शक्तिहरू सत्ता प्राप्तिको होडबाजीमा भए पनि यिनीहरू कसैको पनि आगामी भविष्य सुनिश्चित देखिँदैन । यथास्थितिवादी शक्तिहरूले राजनीतिक दलहरूलाई पुनर्गठित गरेर, पहिलो र दोस्रो तहका नेताहरूलाई हटाएर, नयाँ एजेन्डा र देश चलाउने नयाँ खाका लिएर आए भने बेग्लै कुरा भयो । नत्र भने देशभक्त र राष्ट्रवादी व्यक्तिहरू मिलेर, पुराना दलहरूमा रहेका परिवर्तनका पक्षधर व्यक्तिहरूलाई समेत मिलाएर नयाँ दल वा शक्तिको निर्माण गर्न सके मात्र परिवर्तन र स्थायित्व आउला । तर यस्तै हो भने आयाराम गयारामकै दुश्चक्र घुमिरहन्छ । परिवर्तनको हाम्रो चाहना मृगमरिचिका मात्र साबित हुनेछ ।
(लेखक उप्रेती वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)











प्रतिक्रिया