वीरगञ्ज।
वीरगन्ज महानगरपालिका वडा नं. १०, गीता मन्दिर नजिकै गत असोज १४ गते राति भएको शिवम साह कानु ‘गोल्डेन’को हत्यामा संलग्न मुख्य आरोपीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरी स्रोतका अनुसार, हत्याका मुख्य आरोपी अंशु गिरीलाई घटनाको एक सातापछि वीरगन्जबाट पक्राउ गरिएको हो। गिरी पर्साको पकहामैनपुर गाउँपालिका–४ धोरे घर भएका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साले गोल्डेनको हत्या ‘कुख्यात ग्याङस्टर’ बन्ने युवाहरूको होडबाजी र उनीहरूबीचको पुरानो रिसइबी साध्ने प्रतिशोधका कारण भएको जनाएको थियो ।गत असोज १४ गते राति करिब ११ः३० बजे झैझगडा भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका अन्दाजी २४ वर्षीय गोल्डेनलाई तत्काल नारायणी अस्पताल पु¥याइए पनि उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको थियो।
प्रहरी अनुसन्धानका क्रममा मृतक गोल्डेन र विपक्षी समूहबीच विगतमा समेत झैझगडा हुने गरेको खुलेको छ। घटनाको दिन गोल्डेन गहवामाईको मेला हेर्न गएको मौका छोपी पुरानो रिसइबी साध्नका लागि विपक्षी समूहका युवाहरूले उनलाई एक्लै पारेर आक्रमण गरेका थिए। प्रहरीका अनुसार आरोपीहरूले हात, मुक्काका साथै बाँसका भाटा समेत प्रहार गरी उनको हत्या गरेका थिए।
मुख्य आरोपी गिरी पक्राउ पर्नुअघि नै प्रहरीले हत्यामा संलग्न थप पाँच जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्। पक्राउ परेका पाँचै जना वीरगन्ज महानगरपालिका वडा नं. २४ रामगढवा निवासी हुन्।











प्रतिक्रिया