‘मुटु रोगका कारण दक्षिण–पूर्वी एसियामा प्रत्येक मिनेटमा  आठ जनाको मृत्यु’

2.73k
Shares

काठमाडौं। 

विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) का अनुसार दक्षिण–पूर्वी एसिया क्षेत्रमा हरेक मिनेटमा आठ जनाको मृत्यु मुटु सम्बन्धी रोगका कारण हुने गरेको छ । मुटु रोग यस क्षेत्रमा मृत्युको प्रमुख कारण बनेको छ, जसमा करिब आधा मृत्यु ७० वर्ष मुनिका व्यक्तिहरूको हुने गरेको डरलाग्दो तथ्यांक सार्वजनिक गरिएको छ ।

विश्व मुटु दिवस २०२५ यस वर्ष ‘एक धड्कन नछुटाउनुहोस्’ भन्ने नाराका साथ मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवस २०२५ मा जोखिम नियन्त्रण र प्रोटोकल–आधारित उपचारलाई प्राथमिकता दिन आह्वान गरेको छ । यस अवसरमा डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयकी प्रभारी अधिकृत डा. क्याथरिना बोहेमले हृदय रोग रोकथामलाई प्राथमिकतामा राख्दै सदस्य राष्ट्रहरूलाई साझा प्रतिबद्धता नवीकरण गर्न आह्वान करेकी छन् ।

विश्व मुटु दिवस सन् १९९९ मा वर्ड हर्ट फेडरेशनले सुरु गरेको हो । सुरुआतमा हरेक वर्ष सेप्टेम्बरको अन्तिम आइतबार मनाइने यो दिवस सन् २०११ देखि २९ सेप्टेम्बरमा निश्चित गरिएको हो । यसको उद्देश्य विश्वभर बढ्दो हृदय रोग र स्ट्रोकका जोखिमबारे जनचेतना फैलाउने र रोकथामका उपायहरूलाई प्रवर्द्धन गर्ने हो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार, विश्वभर हरेक वर्ष करिब १ दशमल्भ ८ करोड मानिस मुटु रोगका कारण मृत्यु हुन्छन् । यो कुल मृत्युमध्ये करिब एक तिहाइ हो  ।  यीमध्ये करिब ८५ प्रतिशत मृत्यु हृदयाघात र स्ट्रोकका कारण हुन्छन् । विकसित मुलुकमा उपचार र रोकथामका कार्यक्रम विस्तार हुँदै गए पनि विकासशील मुलुकहरूमा यसको जोखिम उच्च दरमा बढिरहेको छ ।

दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूले सन् २०२३ मा मुटु रोगहरूको रोकथाम र नियन्त्रणलाई तीव्र बनाउने’ प्रस्ताव पारित गरेका थिए । यस संकल्पले सन् २०२५ सम्ममा १० करोड उच्च रक्तचाप वा मधुमेह भएका व्यक्तिलाई प्रोटोकल–आधारित उपचारमा ल्याउने, सुर्तीजन्य पदार्थ नियन्त्रणलाई सुदृढ गर्ने, नुनको सेवन घटाउने र खाद्य आपूर्तिबाट औद्योगिक रूपमा उत्पादित ट्रान्स–फ्याटी एसिड हटाउने लक्ष्य तय गरेको छ ।

गत दुई वर्षमा सदस्य राष्ट्रहरूले नीति र क्लिनिकल हस्तक्षेपमा उल्लेखनीय प्रगति गरेका छन् । जुन २०२५ सम्म सार्वजनिक स्वास्थ्य सुविधाहरूले ९ करोडभन्दा बढी उच्च रक्तचाप वा मधुमेह भएका बिरामीलाई प्रोटोकल–आधारित उपचार उपलब्ध गराएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यस्तै, १ दशमल्भ ७ अर्बभन्दा बढी मानिसलाई औद्योगिक ट्रान्स–फ्याटी एसिडबाट जोगाउने कानुन लागू गरिएको छ । साथै, १० करोड ३० लाखभन्दा बढी मानिसहरू कम्तीमा तीनवटा डब्लुएचओ एमपाओर सुर्तीजन्य नियन्त्रण उपायहरूद्वारा समेटिएका छन् । डा. बोहेमले भनिन्, “राजनीतिक इच्छाशक्ति र सहकार्यका कारण हामीले छोटो समयमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छौँ । तर अझै काम बाँकी छ ।”

डब्लुएचओको मूल्याङ्कन अनुसार, यस क्षेत्रमा उच्च रक्तचाप र मधुमेह भएका ८५ प्रतिशतभन्दा बढी मानिसहरूको अवस्था अझै नियन्त्रणमा छैन । वृद्ध जनसंख्या, बढ्दो शहरीकरण, अस्वस्थ आहार, शारीरिक निष्क्रियता र सुर्तीजन्य पदार्थ प्रयोगले जोखिम थप बढाइरहेका छन् ।

नियमित परीक्षण र प्रयोगशाला क्षमताको कमी, सुर्तीजन्य पदार्थको प्याकेजिङ र विज्ञापन नियमनमा कमजोरी, जनचेतनाको कमी, बजेट अभाव, प्राथमिक स्वास्थ्य सेवामा औषधि तथा उपकरणको कमी र प्रशिक्षित स्वास्थ्यकर्मीको न्यूनताले समस्या समाधानमा अवरोध पुर्याइरहेको छ ।

डब्लुएचओले धेरै सदस्य मुलुकहरूमा ट्रान्स–फ्याट नियन्त्रण कानुन कार्यान्वयन, सामान्य खाद्य पदार्थमा सोडियम घटाउने नीति, र सुर्तीजन्य पदार्थ परीक्षण प्रयोगशाला निर्माणमा अभाव रहेको बताएको छ । विशेषज्ञहरूको भनाइमा, हृदय रोग नियन्त्रणमा सरकार मात्र होइन, नागरिक समाज, शैक्षिक संस्था, निजी क्षेत्र र समुदाय सबैको सक्रिय सहभागिता जरुरी छ । व्यक्तिगत स्तरमा धूम्रपान त्याग्ने, नुन कम खाने, नियमित शारीरिक व्यायाम गर्ने र तनाव व्यवस्थापन गर्ने अभ्यासलाई प्रभावकारी उपायका रूपमा देखिन्छ ।

नीतिगत स्तरमा भने नुन घटाउने कार्यक्रम, खाद्य आपूर्ति शृङ्खलाबाट ट्रान्स–फ्याट हटाउने, सुर्तीजन्य पदार्थ नियन्त्रण कानुनलाई कार्यान्वयन गर्ने, र प्राथमिक स्वास्थ्य सेवामा प्रोटोकल–आधारित उपचार उपलब्ध गराउने जिम्मेवारी सरकार र नीतिनिर्माताको हो ।

डा. बोहेमले प्राथमिक स्वास्थ्य सेवालाई मुटु स्वास्थ्यको अग्रपंक्ति बनाउनुपर्ने आवश्यकता औंल्याउँदै भनिन्, “बिरामी ट्र्याकिङ, उपचार पालना सुधार, निजी स्वास्थ्य क्षेत्रसँग सहकार्य र स्वास्थ्यकर्मी प्रशिक्षणले असंख्य जीवन जोगाउन सक्छ ।”

नेपालमा पनि चुनौती

नेपालमा पनि मुटु रोग गैर–संक्रामक रोगहरू (एनसीडिएस) मध्ये प्रमुख चुनौती बनेको छ । स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार, देशभर मृत्यु हुनेमध्ये झण्डै तेस्रो हिस्सा मुटु रोगसँग सम्बन्धित छ । ग्रामीण क्षेत्रमा नियमित परीक्षण, औषधि उपलब्धता र विशेषज्ञ सेवा अभाव छ भने शहरी क्षेत्रमा अस्वस्थ जीवनशैलीले जोखिम बढाइरहेको छ ।

“प्रत्येक धड्कनको रक्षा गरौं”

विश्व मुटु दिवस २०२५ को अवसरमा डा. बोहेमले “हामी सबै मिलेर प्रत्येक मुटुको रक्षा गर्नुपर्छ । प्रत्येक कदम, प्रत्येक प्रयासले मूल्यवान् जीवन बचाउन सक्छ,” भन्दै प्रतिबद्धता जनाउन आह्वान गरिन् । दक्षिण–पूर्वी एसियामा बढ्दो मुटु रोगको बोझलाई नियन्त्रण गर्न क्षेत्रीय सहकार्य, कार्यान्वयन क्षमताको सुदृढीकरण र समग्र समाजको सहभागिता अब अपरिहार्य बनेको देखिन्छ ।