काठमाडौं।
झुठो कागज पेश गर्दा फिफा अनुशासन समितिले मलेसिया फुटबल संघलाई कारबाही गरेको छ ।
फिफाको अनुशासन संहिताको धारा २२ को उल्लघन गरेकोमा फिफा अनुशासन समितिले मलेसियाको फुटबललाई कारबाही गरेको हो । योसँगैं एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले तीन अंक पाउने सम्भावना बढेको हो ।
गत जुन १० मा भएको घरेलु खेलमा मलेसिया फुटबल संघले अयोग्य खेलाडी भियतनामविरुद्ध उतारेको थियो । जसले गर्दा फिफाको अनुशासनविरुद्ध भएकोले कारबाहीको भागिदार हुनु परेको थियो । यसका साथै फिफाको अनुशासन समितिले होलगाडो र फिगुएरेडोसहित सात खेलाडीलाई आगामी १२ महिनासम्म फुटबलको गतिविधिबाट प्रतिबन्ध लगाएको छ ।
फिफाको अनुशासन समितिले ती खेलाडीहरूलाई कारबाहीका साथै २ हजार स्विस फ्रान्कको जरिवाना पनि तोकेको छ । त्यस्तै मलेसियाको फुटबल संघलाई ३५ हजार स्विस फ्रान्क जरिवाना लगाइएको छ । संघ र खेलाडीले १० दिनभित्र उक्त कारबाहीविरुद्ध अपिल समीतिमा निवेदन दिन सक्नेछन् ।
नेपालविरुद्ध गोल गरेका पनि कारबाहीमा
गत मार्चमा एसियन कप छनोटअन्तर्गत मलेसियामा भएको खेलमा नेपालविरुद्ध गोल गर्ने खेलाडी पनि सो कारबाहीमा परेका छन् । लरेन्स कोर्विन ओंगले नेपालविरुद्ध दोस्रो गोल गरेका थिए । यो खेल नेपालले २–० ले हारेको थियो । यसैले पनि नेपालले गुमाएको तीन अंक प्राप्त गर्ने सम्भावना बढेको हो ।











प्रतिक्रिया