केन छिटो १ सय गोल गर्ने खेलाडी बने


लन्डन, (एजेन्सी)

इंग्ल्यान्डका कप्तान हेरी केन जर्मन बुन्डेसलिगामा छिटो शतकीय गोल गर्ने खेलाडी बनेका छन् । बायर्न म्यनुनिकले वेर्डर ब्रेमेनलाई ४–० ले हराउँदा केनले दुई गोल गरेका हुन् । योसँगैं उनी युरोपका पाँच प्रमुख लिगमध्ये कुनै एक क्लबका लागि छिटो १ सय गोल गर्ने खेलाडी बनेका हुन् ।

केनले पेनाल्टीमा पहिलो हाफमा गोल गरे भने दोस्रो गोल ६५ औं मिनेटमा गरेका थिए । उनले १ सय ४ खेलमै १ सय गोल गरेका छन् । यसअघिको रेकर्ड १ सय ५ खेलमा १ सय गोल गरिएको थियो । जुन रियल मेड्रिडबाट खेल्दा सन् २०११ मा क्रिस्टियानो रोनाल्डोले त्यति खेलका एक सय गोल गरेका थिए । यस्तै, गत वर्ष म्यानचेस्टर सिटीका अर्लिङ हालान्डले पनि सोही रेकर्ड राखेका थिए ।

केनले यसै साता पनि एउटा रेकर्ड राखेका थिए । बायर्नले हफेनहेइमलाई ४–१ ले हराउँदा उनले ह्याट्रिक गरेका थिए । उनले उक्त ह्याट्रिकसँगैं ६७ खेलमा ७० गोल गरेको रेकर्ड राखेका थिए । बुन्डेसलिगाको इतिहासमा कम खेलमा ७० गोल गर्ने अर्को रेकर्ड उनले आफ्नो नाममा गरेका थिए ।

यसैगरी ५० बुन्डेसलिगा खेलमा ५४ गोल गर्ने रेकर्ड पनि केनले राखेका थिए । केन सन् २०२३ मा टोटनहामबाट बायर्नमा १ सय मिलियन पाउन्डमा आबद्ध भएका थिए । उनले प्रिमियर लिगका लागि सबै प्रतिस्पर्धामा गरी ४ सय ३५ खेल खेलेर २ सय ८० गोल गरेका थिए ।

केनको अरू रेकर्डहरू :

-५० खेलमा ५४ गोल गर्दै बुन्डेसलिगामा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी बनेको ।

-लगातार १८ पेनाल्टी गोल गर्ने बुन्डेसलिगाको पहिलो खेलाडी बनेको ।

-बुन्डेसलिगामा पहिलो दुई सिजनमै उच्च गोलकर्ता हुने पहिलो खेलाडी बने ।

-पहिलो दुई सिजनमा नै २५ वा त्योभन्दा बढी गोल गर्ने एकमात्र खेलाडी समेत बने ।

-बुन्डेसलिगामा खेलेका सबै २० प्रतिद्वन्द्वीविरुद्ध गोल गरेको ।