लमजुङ।
समुद्री सतहदेखि करिब पाँच हजार तीन सय मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल दूधपोखरीमा नुहाउने क्रममा हराएका एक किशोरको शव ४९ दिनपछि फेला परेको छ ।
लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका १८ वर्षीय मनोज गुरुङ जनैपूर्णिमाको दिन पोखरीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । शुक्रबार सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको शव उद्धार गरेको हो ।
पोखराबाट एयर डाइनस्टीको हेलिकप्टरमार्फत सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिकाका चार जना गोताखोर टोली पठाइएको थियो । गाउँपालिकाको व्यवस्थापनमा गएको टोलीले खोजतलासी गर्ने क्रममा शव फेला पारेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले जानकारी दिए ।
उद्धार गरिएको शवलाई मृतकका दाजु रेकबहादुर गुरुङले सनाखत गरेका थिए । कानुनी प्रक्रिया पूरा गरेर आवश्यक व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङका अनुसार शुक्रबार शव उद्धारका लागि हेलिकप्टर पठाइएको र शनिबार गोताखोर टोली फर्काउन पुनः हेलिकप्टर पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले यसअघि पनि प्रहरीले खोजतलासी गरे पनि शव फेला नपरेपछि टोली फर्किएको बताए । तर जिल्ला सुरक्षा समिति र गाउँपालिकाको समन्वयमा पुनः टोली पठाउँदा शव भेटिएको उनको भनाइ छ ।
दूधपोखरी दुर्गम भू–भागमा पर्ने भएका कारण शवलाई तल ल्याउन कठिनाइ भएकोले पोखरी वरिपरि नै व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया