धादिङ ।
जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका कैदी–बन्दीमध्ये १ सय ३३ जनालाई धादिङ प्रहरीले पक्राउ गरी पुनः सम्बन्धित कारागारमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालको नेतृत्वमा खटिएको टोलीले जिल्लाभित्र लुकेर बसेका तथा धादिङ हुँदै अन्य जिल्ला प्रवेश गर्ने तयारीमा रहेका कैदी–बन्दीलाई नियन्त्रणमा लिन सफल भएको हो ।
एसपी रिजालले जिल्लालाई भयमुक्त बनाउन निरन्तर अपरेशन चलाइएको जानकारी दिए । उनले भने–जेनजी आन्दोलनकै बीचमा पनि धादिङलाई सुरक्षित राख्न सफल भएका छौँ । नेपालीहरुको महान चाडमा त्रास सिर्जना नहोस् भनेर विशेष सुरक्षा योजना लागू गरेका छौँ ।
धादिङ हुँदै देशका विभिन्न स्थानमा आवतजावत गर्ने यात्रु सुरक्षाबारे निश्चिन्त हुन सक्ने वातावरण बनाउन प्रहरीले चेकजाँच, गस्ती र सूचनाको जालो बलियो पारेको छ ।
एसपी रिजालका अनुसार धादिङ हुँदै काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने यात्रुहरूको सुरक्षामा प्रहरी थप संवेदनशील भएको छ । कैदीबन्दी नियन्त्रण मात्र होइन, यात्रुको मनोबल उच्च बनाउन हाम्रो प्राथमिकता हो, उनले भने ।
धादिङ प्रहरीले पछिल्लो चरणमा कडाइका साथ चेकजाँच गर्ने, रात्री गस्ती बढाउने र नाका तथा नजीकका बस्तीमा सूचनाको आधारमा टोली परिचालन गर्ने गरेको छ । यसका कारण स्थानीयमा सुरक्षा प्रतिको विश्वास बढेको जनाइएको छ ।
जेनजी आन्दोलनपछि देशभरि फरार बनेका कैदीबन्दी नियन्त्रणमा धादिङ प्रहरीको सक्रियता अन्य जिल्लाका लागि पनि उदाहरणीय बनेको छ । पक्राउ परेका कैदीबन्दीलाई सम्बन्धित कारागारमा पुनः पठाएपछि चाडपर्व नजिकिँदै गर्दा जिल्लामा भयमुक्त वातावरण कायम भएको प्रहरी दाबी छ ।
बाँकी फरार कैदीहरू खोजीमा रहेको जनाएको छ । प्रहरीका अनुसार, आन्दोलनको अव्यवस्थित परिस्थितिमा कैदी–बन्दी भाग्ने सम्भावना अझै उच्च भएकाले जिल्लाभर निगरानी बढाइएको छ ।
एसपी रिजालले भने –सुरक्षा संवेदनशील बनेको छ। हामीले सशक्त प्रहरी उपस्थिति र स्थानीय सहकार्यबाट अरू फरारलाई पनि चाँडै नियन्त्रणमा लिनेछौं ।











प्रतिक्रिया