रसुवा । उमेरले ७१ वर्ष लागिसकेका च्याङ्बादोर्जे घले पुराना कृषक हुन् । उनी रसुवा जिल्लाको साबिकको स्याफ्रु गाविस वडा नम्बर ६ हाल संघीयता लागू भएपछि गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६, ठूलो भार्खुमा जन्मिएका हुन् । आफू जान्ने–बुझने भएदेखि आजसम्म नै कृषि कर्ममा नै रमाइरहेका छन् उनी । अरू कुनै पेसा अपनाएनन् ।
उनीसँगै ६९ वर्षीय श्रीमती सिदारग्याल्मो घले उनीसँग विवाह गरेर आएदेखि नै श्रिमान्लाई सघाइरहेकी छन् । दुई दम्पती भन्छन्, ‘कति बाँच्छौँ त्यतिन्जेलसम्म कृषिक्षेत्रमा नै लागिरहन्छौँ । सिजनमा आलु, बन्दा, साग, काउली, खुर्सानी, मुला, धनियाँ, फर्सी, लसुनको खेतीलगायत गाईभैँसी पालेर दूध बेचेरै २ लाख ५० हजार त हुन्छ तर हाम्रो । तामाङ समुदायमा घेवा, विवाह, बिरामी हेर्नुमा पैसा जान्छ, नत्र पैसा बच्ने हुन्छ ।’
उनीहरुका छोराछोरी आ–आफू व्यवसाय गरेर बसेका छन् । घले दम्पती भन्छन्, ‘हामी बूढाबूढी मात्रै खोपाङमा आफ्नै करिब २० रोपनी भिरालो बारीमा कृषि काम गरेर बस्छौँ, पुगेकै छ । दुःख–सुख मेहनत गरेकै छौँ । जति बाँच्छौँ त्यति बेलासम्म ढुंगामाटोसँगै खेल्छौँ ।’ उनीहरूले टिमुर, मकै, कोदो, भटमास, सिमी, कागतीसमेत लागाएका छन् । बजारको समस्या छैन । तर हामी जस्तो किसानको दुःख कसले बुझ्छ भनेर उनीहरु गुनासो गर्छन् ।
कृषि पेसामा नै ७ दशक बिताएका दुई दम्पती गाउँकै उदारवादी कृषक हुन् । उनीहरूले फलाएका चिजबीज हारालुछ हुन्छ । एकैछिन्मा लुछाचुँडी हुने गरेका श्लोक लामा बताउँछन् । कसैले नचिनेका र मेहनत गर्न नछोड्ने यी दम्पतीले निकै आम्दानी गर्दा खुशी लाग्ने नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् ।











प्रतिक्रिया