मेसी चम्केसँगै मायामीको सानदार जित


वाशिंटन, (एजेन्सी)

अमेरिकी मेजर लिग सकर (एमएलएस) अन्तर्गत २९औं चरणको खेलमा इन्टर मायामीले न्यूयोर्क सिटीमाथि प्रभावशाली जित निकालेको छ ।
बिहीबार बिहान न्यूयोर्कको घरेलु मैदानमा भएको खेलमा मायामीले घरेलु टोलीलाई ४–० ले पराजित गर्दै प्लेअफ यात्रालाई बलियो बनाएको हो । प्लेअफ प्रतिस्पर्धामा टिकिरहन जित आवश्यक रहेको दवाबपूर्ण खेलमा मायामीले एकतर्फी प्रदर्शन गर्दै ३ महत्वपूर्ण अंक जोड्यो ।

यो जितसँगै मायामी २९ खेलमा ५५ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । इन्टर मायामीका लागि पहिलो गोल खेलको ४३औं मिनेटमा बाल्टासार रोड्रिग्वेजले गरे, जुन गोलका लागि कप्तान लिओनल मेसीले उत्कृष्ट पास उपलब्ध गराएका थिए ।

दोस्रो गोल ७४औं मिनेटमा मेसी आफैंले गर्दै टोलीको अग्रता दोब्बर बनाए । उक्त गोलमा सर्जियो बुस्केट्सको पास निर्णायक बन्यो । खेलको ८३औं मिनेटमा मियामीले पाएको पेनाल्टीमा मेसीले आफैं प्रहार नगरी लुइस स्वारेजलाई दिने निर्णय गरे, जसमा स्वारेजले बललाई जाली चुमाउँदै स्कोर ३–० बनाए ।
त्यसपछि ८६औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को विजयी नतिजामा पु¥याए । मेसीले खेलमा दुई गोल गर्नुका साथै एक असिस्ट समेत गरेका कारण ‘म्यान अफ द म्याच’ घोषित भए । उनको नेतृत्वमा मायामीको प्लेअफ सम्भावना झनै प्रबल बनेको छ ।