काठमाडौं।
विभिन्न टोलीको प्रशिक्षण सम्हालिसकेका नवीन न्यौपाने राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई सन् २०२६ मा हुने साफ महिला च्याम्पियनसिपसम्मका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
एन्फाको युवा परियोजनाका प्रमुख रहेका उनी गत महिना यु २३ पुरुष टोलीको मुख्य प्रशिक्षक थिए । यस्तै, भगवती थापा र राजकुमार केसीलाई टोलीका सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।
महिला राष्ट्रिय टोलीमा बिन्द्रा देवान टिम म्यानेजर, शिला गिरी फिजियोथेरापिस्ट र विकास गुरुङ किट म्यानेजरको भूमिकामा निरन्तर रहने भएका छन् ।
यसअघि विदेशी प्रशिक्षक प्याट्रिक डि वाइल्डले एएफसी महिला एसियन कप छनोटमा नेपाली टोलीको नेतृत्व गरेका थिए । नेपाली टोली एसियन कपको फाइनल चरणमा छनोट हुन नसकेपछि बेल्जियन प्रशिक्षक प्याट्रिकले राजीनामा दिएका थिए ।
एन्फाले बडो तामझामका साथ विदेशी प्रशिक्षक महिला टोलीका लागि दिए पनि त्यसलाई निरन्तरता दिन सकेन । प्याट्रिकले एन्फाको गतिविधिसँग सन्तुष्ट नभएको र एन्फा सुध्रे मात्र नेपाली टोली सम्हाल्ने पत्र उतै बेल्जियमबाट पठाएका थिए । महिला एसियन कप छनोट सकेपछि उनी उज्बेकिस्तानबाटै नेपाल नफर्की बेल्जियम गएका थिए ।











प्रतिक्रिया