जलेका नोट तत्काल नसाटिने


काठमाडौँ।

नेपाल राष्ट्र बैंकले जलेका वा नष्ट भएका नोट साट्ने प्रक्रियामा कडाइ गर्न लागेको छ । राष्ट्र बैंकले नोट तथा सिक्का नियमावली, २०५९ मा संशोधन गर्दै नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको हो।

जलेका नोट सम्बन्धित व्यक्तिको हो कि होइन र त्यसको स्रोत के हो भन्ने यकिन भएपछि मात्र साट्ने गरिने राष्ट्रका अधिकारीले बताए । यसका लागि कार्यविधि बनाउन नियमावलीमा संशोधनको तयारी भइरहेको छ ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, निजी घर, उद्योग र राजनीतिक दलका कार्यालयमा व्यापक तोडफोड र आगलागी भएको थियो । त्यसक्रममा कतिपय घरमा जलेका नोट र विदेशी मुद्रा फेला परेका थिए । अब राष्ट्र बैंकले सम्बन्धित व्यक्तिबाहेक कसैले जलेको नोट दाबी गर्न आउँदा साट्ने छैन । आगलागी वा नष्ट भएको नोटको स्रोत र घटना विवरणको प्रहरी रिपोर्ट पेश गर्नुपर्नेछ । भदौ २२ गतेसम्म बजारमा ७ खर्ब ३८ अर्ब ९३ करोड रुपियाँको नोट चलनचल्तीमा रहेको थियो । आगलागी र अन्य कारणले कति नोट नष्ट भए वा दाबी योग्य छन् भन्ने निश्चित विवरण अझै आएको छैन ।