निर्माण आयोजनामा चीन र अमेरिकाको चासो


काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङले अमेरिकासहित चीनका राजदूतसँग भेटवार्ता गरी सहकार्य र विकास निर्माणका आयोजनाहरूको प्रगति बारे छलफल गर्नुभएको छ। नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटमा नेपाल–अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजना, तथा आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै चिनियाँ राजदूत चेन सोङले नेपाल–चीनबीचको सडक तथा प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ ठेकेदारले लिएका आयोजना, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ लगानी तथा चालु आयोजनाहरूको कार्यान्वयन अवस्था लगायतका विषयमा छलफल गर्नुभयो ।

मन्त्री घिसिङले काठमाडौं–कोदारी (अरनिको) र स्याप्रुबेंसी–रसुवागढी सडकलाई नेपाल–चीन सम्बन्धको दृष्टिले संवेदनशील मान्दै पहिरो र भौगोलिक जोखिमका कारण स्थायी समाधानका लागि आधुनिक प्रविधि प्रयोग गरी मर्मतमा सहयोग गर्न आग्रह गर्दै चक्रपथ विस्तारअन्तर्गत कलङकी–बसुन्धरा खण्डको काम तत्काल अघि बढाउन, अरुण करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र किमाथाङ्का हुँदै अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहजीकरण गरिदिन पनि अनुरोध गरे।