काठमाडौं ।
नेपाली भलिबलका एक सफल प्रशिक्षकको रूपमा परिचित जगदिश भट्टले भलिबलको सबै जसो गतिविधिबाट विश्राम लिने उनको सामाजिक संजालमा उल्लेख गरेका छन् । उनले फेसबुकमा एक लामो स्ट्याटस लेखेर भलिबलबाट ब्रेक लिएको घोषणा गरेका हुन् । तर, उनले राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमबाहेक त्यो पनि जागीरमै रहेसम्म मात्र संलग्न रहने बताएका छन् ।
सुदूरपश्चिमका भट्टले लेखेका छन्—“पेशा र राष्ट्रका खातिर पटक–पटक अवहेलना सहँदै ‘थोरै भए पनि केही गरौँ’ भन्ने सोचका साथ लागेको थिएँ । तर अब त्यो अवस्था रहेन । त्यसैले आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रमबाहेक—त्यो पनि जागिरमै रहेसम्म—मात्र संलग्न रहनेछु ।
भट्टले भलिबल खेललाई बाहिरबाटै सहयोग गर्ने पनि बताएका छन् । उनले लेखेका छन्— काम गर्न नसकिने अवस्थामा बसिरहनु भन्दा बाहिरबाटै भलिबल खेललाई सहयोग गर्ने बाटो रोज्नेछु । यसबाहेक अन्य कुनै गतिविधि (छनोट वा सहभागीता) मा संलग्न नहुने निर्णय लिएको छुँ भन्ने कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु”
भट्ट राखेपअन्तर्गत भलिबलको मुख्य प्रशिक्षक हुन् उनी तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकसमेत हुन् । उनी नेपाली भलिबलको सबैभन्दा सफल प्रशिक्षक पनि हुन् । उनकै प्रशिक्षणमा नेपालको महिला भलिबल टोलीले एभिसी सेन्ट्रल जोनमा दुई उपाधि जितेको थियो । यस्तै, १३ औं सागमा ऐतिहासिक कांस्य पदक हासिल गर्न सफल भएको थियो ।











प्रतिक्रिया