उच्च रक्तचाप नियन्त्रणमा बेवास्ता नगरौं


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर सन् २०२४ सम्म उच्च रक्तचापबाट पीडित हुने व्यक्तिको संख्या १ अर्ब ४० करोड नाघिसकेको छ । यो तथ्यांक विश्वमै स्वास्थ्य संकटकै रूपमा हेरिनुपर्ने अवस्था हो । अझ चिन्ताजनक कुरा के भने, यति ठूलो संख्यामा पीडित भए पनि पाँचमध्ये एकजनाले मात्र औषधि प्रयोग गरेर वा जीवनशैली परिमार्जन गरेर रोग नियन्त्रणमा राखिरहेका छन् ।

बाँकी चारजनाले उपचार नै नगरेको वा पर्याप्त ध्यान नदिएको कारण अपांगता वा अकालमा मृत्यु भोगिरहेको अवस्था छ । प्रतिवेदनले स्पष्ट देखाउँछ– उच्च रक्तचाप कुनै अनिवार्य रोग होइन, बरु रोकथाम र नियन्त्रण गर्न सकिने समस्या हो । तर ध्यान नदिएकै कारण लाखौँ मानिस हृदयघात, मस्तिष्कघात, मिर्गौला रोग र डिमेन्सियाजस्ता जटिल रोगबाट ज्यान गुमाइरहेका छन् । विश्वमै हरेक घण्टामा उच्च रक्तचापकै कारण एक हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनु यसको भयावह प्रमाण हो ।

नेपाल पनि यो समस्याबाट अछूतो छैन । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा करिब २८ प्रतिशत वयष्क नागरिक उच्च रक्तचापको समस्याबाट पीडित छन् । अर्थात् झन्डै ३ करोड जनसंख्या भएको मुलुकमा करिब ८० लाखभन्दा बढी नागरिक यो समस्यामा फसेका छन् । तर औषधि वा नियमित उपचार गर्नेको संख्या न्यून छ ।

ग्रामीण क्षेत्रमा अझै स्वास्थ्य संस्थामा सहज औषधि उपलब्ध छैन । स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का अनुसार हाल नेपालमा कुल मृत्युको करिब ६० प्रतिशत हिस्सा हृदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचाप र क्यान्सरजस्ता रोगले लिएको छ । यसमा उच्च रक्तचाप प्रमुख कारक बनेको छ तर राज्यका स्वास्थ्य नीतिहरू अझै संक्रामक रोग नियन्त्रणमै बढी केन्द्रित छन् ।

संयुक्त राष्ट्रसंघको ८० औँ महासभा अवधिमा सार्वजनिक गरिएको प्रतिवेदनले न्यून आय भएका मुलुकहरूमध्ये २८ प्रतिशत देशमा मात्र उच्च रक्तचापका सबै औषधि प्राथमिक स्वास्थ्य केन्द्र वा फार्मेसीमार्फत उपलब्ध हुने तथ्य देखाएको छ । नेपाल पनि यसमा पछि पर्नु दुःखद कुरा हो । शहरका ठूला अस्पताल वा निजी फार्मेसीमा मात्रै आवश्यक औषधि पाउने तर ग्रामीण क्षेत्रमा आधारभूत औषधि पनि नपाइने अवस्था विद्यमान छ । औषधि खरिद सरकारको तीनै तहमा हुन्छ तर स्थानीय तहले समयमा औषधि पाउँदैन, खरिद अधिकार सीमित छ ।

उच्च रक्तचापको तीनथरी औषधिमध्ये स्थानीय तहले एउटा, प्रदेशले एउटा र थप चाहिए संघले खरिद र आपूर्ति गर्ने व्यवस्था गरिएको छ । यो नै समयमा औषधि नपाउने मुख्य समस्या बनेको छ ।

उच्च रक्तचाप रोकथामका लागि जीवनशैलीमा परिमार्जन अत्यावश्यक छ । नुनको सेवन घटाउने, प्रशोधित खाना कम गर्ने, नियमित व्यायाम गर्ने, धूमपान–मद्यपान त्याग्ने, मानसिक तनाव नियन्त्रण गर्नेजस्ता सामान्य उपायले ठूलो सुधार ल्याउन सकिन्छ तर नेपालमा यस्ता जनचेतनामूलक कार्यक्रमहरू पर्याप्त छैनन् । विद्यालयस्तरदेखि नै स्वास्थ्य शिक्षा र सचेतना विस्तार गर्न नसक्दा नयाँ पुस्ता पनि जोखिममा पर्न थालेका छन् ।

सन् २०११ देखि २०२५ सम्म उच्च रक्तचापसहित मुटुरोगहरूबाट कम र मध्यम आय भएका देशहरूमा झन्डै ३ दशमलव ७ ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक व्ययभार परेको छ । नेपालजस्तो आयस्रोत सीमित भएको मुलुकका लागि यस्तो व्ययभार थेग्न कठिन छ । कामकाजी उमेरका मानिस रोगको चपेटामा पर्ने हुँदा उत्पादनशीलता घट्ने र स्वास्थ्य खर्च बढ्ने समस्या निम्तिएको छ । अझै उच्च रक्तचाप नियन्त्रणमा बेवास्ता गर्ने हो भने झन् घातक बन्न सक्छ ।