झण्डै ७०अर्ब ऋण थपियो


काठमाडौं।

चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो दुई महिनामा सरकारको ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन र भदौ महिनामा ६९ अर्ब ३२ करोड रुपियाँ बराबर सार्वजनिक ऋण थपसँगै कुल २७ खर्ब ४३ अर्ब ३७ करोड १० लाख रुपियाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.९२ प्रतिशत बराबर हो । गत आर्थिक वर्षको अन्त्यसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपियाँ थियो ।

दुई महिनाको अवधिमा कुल ७९ अर्ब १५ करोड ५९ लाख रुपियाँ ऋण संकलन भएको छ । यसमध्ये ७० अर्ब आन्तरिक ऋण र ९ अर्ब १५ करोड ५९ लाख रुपियाँ बाह्य ऋण रहेको छ । सोही अवधिमा सरकारले ऋण भुक्तानीतर्फ ६५ अर्ब ७ करोड ११ लाख रुपियाँ खर्च गरेको छ । जसअन्तर्गत आन्तरिक ऋणको साँवा ५६ अर्ब ४० करोड र ब्याज ११ अर्ब २७ करोड तिर्नुपरेको छ भने बाह्य ऋणतर्फ साँवा ८ अर्ब ६७ करोड ११ लाख र ब्याज २ अर्ब ३२ करोड भुक्तानी गरिएको छ । भदौ मसान्तसम्म कुल साँवा खर्च ६५ अर्ब ७ करोड ११ लाख र ब्याज खर्च १३ अर्ब ६० करोड पुगेको छ । यो चालु आवमा ऋण सेवा खर्चका लागि छुट्याइएको बजेटको १९.१४ प्रतिशत हो । जीडीपीका आधारमा भदौ मसान्तसम्म ऋण सेवा खर्च १.२९ प्रतिशत भएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब रुपियाँ ऋण संकलन गर्ने लक्ष्य राखेको छ । जसमा ३ खर्ब ६२ अर्ब आन्तरिक र २ खर्ब ३३ अर्ब बाह्य ऋण लिने योजना छ । तर, दुई महिनासम्ममा जम्मा ७९ अर्ब १५ करोड मात्रै ऋण उठाएकोले कुल लक्ष्यको १३.२९ प्रतिशत मात्र प्राप्त भएको देखिन्छ ।

कार्यालयका अनुसार हालसम्मको कुल ऋणमध्ये १२ खर्ब ८१ अर्ब ८२ करोड ४१ लाख आन्तरिक र १४ खर्ब ६१ अर्ब ५४ करोड ६९ लाख रुपियाँ बाह्य ऋण रहेको छ । जीडीपीको आधारमा आन्तरिक ऋणको हिस्सा २०.९९ प्रतिशत र बाह्य ऋणको हिस्सा २३.९३ प्रतिशत पुगेको छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर न्यून रहेको अवस्थामा सरकारले विकास ऋणपत्र र ट्रेजरी बिलमार्फत आन्तरिक ऋण संकलनलाई निरन्तरता दिएको हो ।