साफ यू–१७ च्याम्पियनसिप सेमीफाइनलमा नेपालको भिडन्त भारतसँग


काठमाडौं ।

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप २०२५ अन्तर्गत नेपालले फाइनल प्रवेशका लागि सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

हालसम्म प्रतियोगिताको कीर्तिमानी ६ पटकको विजेता भारत समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै अन्तिम चारमा प्रवेश गरेको हो । सोमबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई ३–२ गोलअन्तरले हराउँदै समूह विजेता बन्न सफल भयो ।

यो जितसँगै भारतले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता नेपालसँग खेल्ने पक्का भएको हो । नेपाल र भारतबीचको सेमिफाइनल खेल बिहीबार साँझ ७ः१५ बजे कोलम्बो स्पोट्र्स कम्प्लेक्समा हुनेछ ।

भारतले समूह चरणका सबै तीन खेलमा जित निकाल्दै अपराजित यात्रा तय गरेको छ । भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले पराजित गरेपछि दोस्रो खेलमा भुटानविरुद्ध १–० को कठिन जित हासिल गरेको थियो । पाकिस्तान ६ अंकसहित उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो ।

नेपालले समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो । पहिलो खेलमा नेपालले आयोजक श्रीलंकामाथि २–० को सहज जित निकालेको थियो, तर दोस्रो खेलमा बंगलादेशसँग ४–० को पराजय बेहोर्नुपरेको थियो ।

सेमिफाइनलअन्तर्गत बिहीबार दिउँसो ३ः१५ बजे पहिलो खेलमा समूह ‘ए’ को विजेता बंगलादेशले समूह ‘बी’ को उपविजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि हुने दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्ने छन्, जहाँ दुवै टोलीको लक्ष्य फाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ ।