नेपाली महिला टोलीले भारतसँग खेल्ने


काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, नेपाल र भारतबीचको उक्त खेल आउँदो अक्टोबर २६ तारिख (कार्तिक ९ गते) भारतको सिक्किममा हुनेछ । यसअघि नेपाल र भारतबीचको पछिल्लो प्रतिस्पर्धा २०२४ को साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भएको थियो । जुन नेपालमा आयोजना गरिएको थियो ।

त्यस खेलमा निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा नेपालले पेनाल्टीमा भारतलाई ४–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । तर, फाइनलमा भने नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै उपविजेतामै सीमित भएको थियो ।

भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली महिला टोलीले इन्डोनेसियामा आयोजना हुने त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल श्रृंखलामा सहभागिता जनाउनेछ । आगामी नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म चल्ने उक्त श्रृंखलामा नेपालसहित घरेलु टोली इन्डोनेसिया र चाइनिज ताइपेई सहभागी हुनेछन् ।

नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २६ मा इन्डोनेसियाविरुद्ध र दोस्रो खेल डिसेम्बर २ मा चाइनिज ताइपेईसँग खेल्ने तालिका रहेको छ ।