एन्फाले सार्वजनिक गर्‍यो परिमार्जित क्यालेन्डर : ए डिभिजन लिग ६ महिना चल्ने


काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२५ का लागि परिमार्जित फुटबल क्यालेन्डर सार्वजनिक गरेको छ ।
नयाँ क्यालेन्डरमा राष्ट्रिय प्रतियोगिता तथा नेपालले सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तालिका समावेश गरिएको छ । नयाँ क्यालेन्डरअनुसार सहीद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुस ९ गतेबाट सुरु भई आगामी वर्षको असार २६ गते सम्म सञ्चालन हुनेछ ।

यसपटक लिग ६ महिनासम्म सञ्चालन हुने गरी तालिका तय गरिएको एन्फाले जनाएको छ । लामो समयदेखि रोकिएको लिग यस पटक निरन्तरता दिने प्रयास स्वरूप लम्बिएको हो ।

नेपालको शीर्ष डिभिजन लिगको अघिल्लो संस्करण २०८० सालको जेठ महिनामा सम्पन्न भएको थियो । सो सिजनमा ‘बी’ डिभिजनबाट बढुवा भएको चर्च ब्वाइज युनाइटेडले पहिलो सहभागितामै च्याम्पियन बन्ने ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । त्यसयता लिग स्थगित अवस्थामा रहेको छ । सहीद स्मारक ‘सी’ डिभिजन लिग भने आगामी मंसिर ४ देखि २८ गते सम्म सञ्चालन हुनेछ ।

एनएसलको समय निर्धारण गरिएन

एन्फाको परिमार्जित क्यालेन्डरमा नेपाल सुपर लिग (एनएसएल) को लागि भने कुनै समय निर्धारण गरिएको छैन । एन्फाले यसबारे स्पष्ट कारण उल्लेख गरेको छैन । केही महिनाअघि धुलिखेलमा सम्पन्न एन्फाको साधारण सभाले एनएसएलको चौथो संस्करण सेप्टेम्बर–नोभेम्बरको समय दिएको थियो ।

हालसम्म एनएसएलको तीन संस्करण सम्पन्न भइसकेको छ । तर पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइजी महिला लिग भने आगामी फागुनमा हुने जनाएको छ ।