बालोन डी ओर अवार्डमा बोनमाटीको ह्याट्रिक


लन्डन, (एजेन्सी) ।

स्पेनिस क्लब एफसी बार्सिलोनाकी मिडफिल्ड स्टार अइटाना बोनमाटीले वर्ष २०२५ को महिला बालोन डी ओर अवार्ड जितेकी छन् ।
फ्रान्सको पेरिसमा सोमबार राति आयोजित एक भव्य समारोहमा उनलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो । २७ वर्षीया बोनमाटीले लगातार तेस्रो वर्ष यो अवार्ड जित्दै इतिहास रचेकी छन् ।

यसअघि उनले २०२३ र २०२४ मा पनि यो अवार्ड जितेकी थिइन् । बोनमातीले यो पटक अवार्ड जित्दा उनकी स्पेनिस खेलाडी तथा आर्सेनलकी विंगर मारियोना काल्डेन्टे दोस्रो स्थानमा रहिन् ।

यस उपलब्धिसँगै, उनी महिला फुटबलमा तीनपटक बालोन डी ओर जित्ने पहिलो खेलाडी बनेकी छन् । यसअघि बार्सिलोनाकै अर्की खेलाडी एलेक्सिया पुटेलासले दुईपटक यो अवार्ड जितेकी थिइन् ।
बार्सिलोनाका खेलाडीहरूको वर्चश्व यसपटक पनि देखिएको छ । क्लबकै अर्का युवा प्रतिभा लामिन यामलले वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भए ।

डेम्बेलेको पहिलो बालोन डीओर अवार्ड

वर्ष २०२५ को पुरुष बालोन डी ओर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार उसामान डेम्बेलेले जितेका छन् । पहिलो पटक यो अवार्ड जितेका २८ वर्षीय फ्रेन्च विंगर यो अवार्ड जित्ने छैटौं फ्रेन्च खेलाडीसमेत हुन् । तर, यस अवार्ड जित्ने उनी २१ औं शताब्दीका दोस्रो खेलाडी हुन् । यसअघि करिम बेन्जेमाले २०२२ मा सो अवार्ड जितेका थिए ।

डेम्बेलेले पिएसजीलाई एकै सिजनमा ऐतिहासिक पाँचवटा उपाधि जिताउन प्रमुख भूमिका खेलेका थिए । उनको नेतृत्वमा पिएसजीले यूईएफए च्याम्पियन्स लिग उपाधि पहिलोपटक जितेको थियो । त्यसै वर्ष क्लबले घरेलु लिग, कप, सुपर कपसहित पाँचवटा उपाधि आफ्नो नाममा पारेको थियो ।

डेम्बेलेले ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए । सन् २०२४–२५ मा उनले फ्रान्सबाट खेलेको ७ खेलमा दुई गोल गरेका छन् । क्लब वल्र्ड कप २०२५ मा पनि उनले टोलीलाई फाइनलसम्म पु¥याए । जहाँ पिएसजी चेल्सीसँग पराजित भएको थियो ।
अवार्ड जितेपछि भावुक बनेका उनले यस उपलब्धिलाई असाधारण भन्दै पिएसजी, प्रशिक्षक, टोलीका साथी र परिवारलाई धन्यवाद दिए ।

बालोन डी ओरको दौडमा डेम्बेलेले बार्सिलोनाका १८ वर्षीय युवा स्टार लामिन यामललाई पछि पारेका थिए । यामल दोस्रो स्थानमा रहँदा बार्सिलोनाकै राफिन्हा पाँचौँ स्थानमा रहे ।गत सिजन डेम्बेले लिग १ र च्याम्पियन्स लिग दुवै प्रतियोगितामा ‘बेस्ट प्लेयर अफ द सिजन’ घोषित भएका थिए ।

अवार्ड घोषणा अगावै उनलाई बलियो दावेदारका रूपमा हेरिएको थियो ।पिएसजी प्रशिक्षक लुइस एनरिके ‘कोच अफ द इयर’ बने । पिएसजीको सफलतामा उनको योगदान महत्वपूर्ण रहयो । साथै उनले गत डिसेम्बरमा डेम्बेलेलाई दायाँ विंगबाट सेन्टर फरवार्डमा सार्ने रणनीतिक निर्णय गरेका थिए । त्यसपछि उनले लगातार ३० गोल गरेका थिए ।

बार्सिलोनाका १८ वर्षीय लामिन यामलले ‘कोपा ट्रफी’ जिते । २१ वर्षमुनिको उत्कृष्ट खेलाडीको अवार्ड लगातार दोस्रो वर्ष जित्ने उनी पहिलो खेलाडी बने । आर्सेनलका भिक्टर ग्योकेरेसले ५४ गोलसहित ‘गर्ड मुलर ट्रफी’ प्राप्त गरे । इटालियन गोलकिपर डोनारुम्माले दोस्रो पटक ‘यासिन ट्रफी’ जिते । गत सिजन उनले पिएसजीका लागि १७ खेलमा क्लिनसिट राखेका थिए ।