नेपालको भूगोल पहाडी र हिमाली छ । यहाँको प्राकृतिक बनावट सुन्दर भए पनि चुनौतीपूर्ण छ । नेपालका अधिकांश सडकहरू अस्थायी, साँघुरा र मौसमअनुसार अस्थिर छन् ।
पहाडी भूभागमा बनेका सडकहरू वर्षा, पहिरो र सुक्खा पहिरोको उच्च जोखिममा हुन्छन् । राजधानी काठमाडौं प्रवेश गर्ने प्रमुख सडकहरू जस्तै– त्रिशूली सडक, पृथ्वी राजमार्ग र अरनिको राजमार्गमा प्रत्येक वर्ष प्राकृतिक विपत्तिका कारण सवारी आवागमन अवरुद्ध हुने गरेको छ ।
यस्तो स्थिति केवल यात्रुका लागि मात्र होइन, आर्थिक गतिविधिका लागि पनि घातक हुन्छ । प्रहरी प्रशासनले जवाङखोलाको पहिरोपछि तीन वैकल्पिक मार्गको सुझाव दिएको छ । तीमध्ये धादिङको मलेखु (फुर्के खोला) बाट सल्यानटार, गोरखाको आरुघाट हुँदै तनहुँको आँबुखैरेनी मार्ग अहिले बढी प्रयोगमा आएको छ । यद्यपि, वैकल्पिक मार्गहरू पनि सामान्य अवस्थामा नियमितरूपमा प्रयोग हुने सडक होइनन् । यी सडकहरू पर्याप्त चौडाइ, सुरक्षा र पिचको स्तरमा कमजोर छन्, जसले गर्दा त्यहाँ सवारी चाप बढेपछि थप समस्या उत्पन्न हुन्छ ।
वैकल्पिक मार्ग प्रयोगको सल्लाह तत्काल समाधानजस्तो देखिए पनि दीर्घकालीन सोचका दृष्टिले यो केवल छोटो समयको समाधानको उपाय मात्र हो । जबसम्म पूर्वाधारमा गुणस्तरीय सुधार, पहिरो रोकथाम प्रविधिको विकास र यातायात व्यवस्थापन प्रणालीलाई सुदृढीकरण गर्दैनौं, तबसम्म यस्ता समस्या बारम्बार दोहोरिनेछन् । पहिरो सम्भावित क्षेत्रहरूमा भू–प्राविधिक अध्ययन, निगरानी प्रणाली, पहिरो पूर्वसूचना प्रणाली र नक्सांकन गरी पहिरो रोकथामका लागि पूर्वतयारी गर्नु आवश्यक छ ।
केवल एक–दुई सडक मार्गमा निर्भर हुनु नेपालको भू–संरचनाअनुसार अत्यन्त जोखिमपूर्ण छ ।
त्यसैले प्रदेश र संघ सरकारले प्रत्येक प्रमुख मार्गसँग वैकल्पिक, समानस्तरको सडक पूर्वाधार विकासमा लगानी गर्नुपर्छ । सडक संरक्षण र मर्मतमा स्थानीय तहको संलग्नता अपरिहार्य छ । उनीहरूले छोटा दूरीका वैकल्पिक बाटाहरू समयमै मर्मत गरी सधैँ प्रयोगयोग्य बनाउन सक्नुपर्छ । जोखिमयुक्त सडकखण्डहरूमा ट्राफिक व्यवस्थापन, सवारी सञ्चालन समयको तालिका र अनिवार्य सूचना प्रवाहको व्यवस्थाले यात्रुलाई सजिलो हुन्छ ।
अहिले पनि सूचना प्रवाहको अभावले यात्रुहरू अलपत्र पर्नुपरेको देखिन्छ । सवारी चाप बढ्ने मौसमी समयहरू (जस्तै– दशैं, तिहार) वा बर्सातमा सडकमा असहज अवस्था आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्वानुमान गरिने रणनीति आवश्यक छ । यसका लागि मौसम पूर्वानुमान प्रणाली, सडक विभाग र ट्राफिक प्रहरीबीच घनिष्ट समन्वय आवश्यक छ ।
सडक केवल भौतिक पूर्वाधार होइन, यो जीवनरेखा हो । नेपालको सन्दर्भमा अझ विशेष, किनभने अन्य वैकल्पिक यातायात प्रणालीहरू (रेल, जलमार्ग) विकास भएका छैनन् । त्यसैले सडकको अवरोधले केवल यात्रुहरूलाई हैरान पार्दैन । खाद्यान्न आपूर्ति, औषधि आपूर्ति, आपतकालीन सेवाहरू र आर्थिक गतिविधिमा समेत गम्भीर असर पार्दछ ।
यसकारण, अहिलेको आवश्यकता केवल समस्याको समाधानमा होइन, समस्याको पुनरावृत्तिलाई रोक्ने दीर्घकालीन रणनीति निर्माणमा केन्द्रित हुनु हो । नत्र भने, हरेक वर्ष यस्तै पहिरो, यस्तै जाम र यस्तै अलपत्र यात्रुको कथा दोहोरिइरहनेछ, जुन मुलुकको समृद्धिको बाटोमा एउटा ठूलो अवरोध हो ।











प्रतिक्रिया