शिक्षामन्त्री पुनको अबदेखि मन्त्रालयमै बास

विज्ञान सुधार्न चार सल्लाहकार समिति गठन

2.16k
Shares

काठमाडौं।

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञान प्रविधि तथा नवप्रवर्धन, आर्टिफिसियल इन्टलिजेन्सलगायतका विषय अध्ययन गरी मन्त्रालयलाई सुझाव दिन चार सल्लाहकार समिति बनाउने पहिलो निर्णय गर्नुभएको छ ।

विज्ञान सचिव विश्वबाबुु पुडासैनीले पेस गर्नुभएको टिप्पणीमा हस्ताक्षर गर्दै सो निर्णय गर्नुभएको हो । विज्ञान तथा नवप्रवद्र्धनलाई विशेष जोड दिन उहाँले सो निर्णय गर्नुभएको हो । चार सल्लाहकार समितिको सुझावसहितको प्रतिवेदनका आधारमा कार्ययोजना तयार गरी कार्यान्वयन गर्नेछ ।

त्यसअघि शीतल निवासमा शपथ लिएपछि पत्रकारसँग कुरा गर्दै मन्त्री पुनले भन्नुभयो– ‘अपर्झट मन्त्री भएकाले अहिले नै धेरै बोल्दिनँ, म शिवजी अथवा भगवान् भइदिएको भए त्रिनेत्र लगाएर यसो यसो गर्छु भन्ने थिएँ, अब अपर्झट यहाँ आएर मन्त्री भइएको छ, सेवा सुविधा चाहिन्नँ ।’ उहाँले आफू किताब बेच्दाबेच्दै आएको मान्छे भएर तत्काल यो गर्छु वा त्यो गर्छु भनेर ठोकुवा गर्न नसक्ने बताउनुभयो । उहाँले जिस्कँदै भन्नुभयो– ‘म मन्त्रालयमै ओच्छ्यान लगाएर सुत्छु । त्यहीँ बस्छु । सधैं मन्त्रालयमै रहेर काम गर्छु ।’ उहाँले दोहो¥याएर भन्नुभयो– ‘मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाइखाने, त्यहीँ सुत्ने गर्छु । म काम गर्न आएको हो ।’ उहाँले आफू रातदिन शिक्षा मन्त्रालयमै बसेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आफूले जिम्मेवारी पाएको मन्त्रालय शिक्षा क्षेत्रसँग पनि जोडिएको तर, शिक्षामा सुधार र परिवर्तनबारे अहिले नै नबोल्ने बताउनुभयो । शिक्षामा पनि धेरै नयाँ विषय छन्, अध्ययन गरेरमात्र बोल्नेछु । विज्ञान मन्त्री हुने आशमा रहनुभएका मन्त्री पुनले शिक्षालाई टुक्र्याउन नमिल्ने भएपछि शिक्षा र विज्ञान मन्त्रालयको वागडोर सम्हाल्नुभएको हो । जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो ।

यसअघि हिजो पदभार ग्रहण गर्नुभएका मन्त्री पुनले मेरो पहिलो घोषणा भन्दै सोमबार बिहान सामाजिक सञ्जालमा लेख्नुभएको थियो– ‘कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नु होला ।’

यो घोषणा गरेपछि मन्त्रालयका अधिकारी अचम्मित भएका छन् । एक कर्मचारीले भने– ‘पहिलो दिन मन्त्री भेट्दा बधाई भन्ने कि नभन्ने । उहाँलाई मन्त्री नभने के भनेर सम्बोधन गर्ने ? महावीर पुनज्यू भन्ने ? मिल्दै मिल्दैन । कवाडी वैज्ञानिक भनेर बोलाउन नैतिकताले दिँदैन । नाम लिएर त बोल्नै मिल्दै मिल्दैन ।’

यसअघि शिक्षा सचिवले पहिलो निर्णय गर्न टिप्पणी तयार गर्ने प्रचलन थियो । वि.सं २०७४ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय भएपछि विज्ञान सचिवले पहिलो निर्णयको टिप्पणी उठाएको सम्भवतः पहिलो घटना हो । हुन त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पद अफर गर्दा मन्त्री पुनले आफू विज्ञानसँग जोडिएका काममात्र गर्ने बताउनुभएको थियो । पछि मन्त्रालय टुक्र्याउँदा समस्या पर्ने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वागडोर सम्हाल्नुभएको हो ।

सादा जीवन उच्च विचार भएका मन्त्री पुनले आविष्कार केन्द्रलाई आर्थिक स्रोत जुटाउन जिल्ला जिल्लामा किताब बेचिरहनुभएको थियो । अब उहाँका किताब आविष्कार केन्द्रबाट मात्र बिक्री हुनेछन् । ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बोकेर उहाँले हालसम्म २ लाख ४० हजार बढी पुस्तक बिक्री गरिसक्नुभएको छ । उहाँले गाउँगाउँमा ताररहित इन्टरनेट सेवाको आविष्कार गर्नुभएको थियो । अमेरिकाका नेब्रस्का विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएका मन्त्री पुनले सन् २००७ मा एसियाको नोबल पुरस्कारको रूपमा मानिएको म्यागासेसे अवार्ड पाउनुभएको छ ।