जेन– जी आन्दोलनका शहीद परिवारको पीडा: विदेश गएर ऋण तिर्छु भन्थ्यो, साधैको लागि अस्तायो

6.96k
Shares

दोलखा। 

दोलखाको विगु गाँउपालिका वडा नम्बर– ३ बुलुङ स्थायी घर भै ललितपुरको इमाडोल बस्दै आएकी दिल कुमारी बुढाथोकी स्तन क्यान्सरको बिरामी हुन् । विगत एक बर्षदेखि क्यान्सर रोगले थलिएको दिल कुमारीको जेठा छोरा महेश बुढाथोकीको जेन– जी आन्दोलनको क्रममा गत भदौ २४ गते काठमाडौँ कोटेश्वरमा गोली लागेर मृत्यु भएपछि उनी अहिले बिच्छिप्त बनेकी छन् । 

म बिरामी भएदेखि नियमति अस्पताल पु¥याउने र डक्टरले भनेको समयमा औषधी खुवाउने मेरो छोराको आन्दोलनमा गोली लागेर मृत्यु भएपछि म बेसहारा झैँ भएको छु– आमा दिल कुमारीले भक्कानिँदै पीडा सुनाइन ।  

गोली लागेर मृत्यु भएका महेशको बुबा केशव बुढाथोकी राजधानिमै मजदुरी काम गर्छन । आमा दिलकुमारी पनि बिरामी हुनुभन्दा पहिले राजधानिकै एउटा स्कुलमा काम गर्थिन । भाइ उमेश बुढाथोकी भने भर्खर १२ सकेर बसेका छन् । 

आफूले र श्रीमानले मजदुरी गरेर कमाएको पैसा क्यान्सरको उपचारमै सकिएपछि जेठा छोरा (मृतक महेश) कै भरोसामा रहेको भएपनि उसको मृत्युले सबै कुरा सकिएझै भएको दिल कुमारीको गुनासो छ । 

मृतक महेशको परिवार विगत ११-१२ बर्ष देखि इमाडोल बस्दै आएको छ । १२ कक्षा सकेर बसेका महेश रोमन (विदेश) जाने तयारीमा थिए । नेपाल बसुन्जेल पठाओ गरेर उपचारको लागि पैसा जम्मा गर्छु अनि विदेश गएपछि उपचारमा लागेको ऋण समेत तिरिदिन्छु भन्थ्यो अहिले हामीलाई पीडा दिएर साधैको लागि अस्थायोे – आमा दिल कुमारीले भक्कानीदै भनिन् । 

जेन– जीले सुरु  गरेको आन्दोलनमा सहभागी हुन भदौ २३ गते काठमाडौँको माइतीघर पुगेका महेश त्यो दिन बेलुका ८ बजेतिरमात्र घर फर्किएका थिए । उनले आफू आन्दोलनमा गएको कुरा घरमा कसैलाई पनि भनेका थिएनन् । भदौ २४ गते बिहानै निस्किएका महेशलाई दिउँसो १२ बजेतिर कोटेश्वर प्रहरी चौकी अगाडि गोली लागेपछिमात्र परिवारका सदस्यले आन्दोलनमा गएको बारे थाहा पाएको भाइ उमेश बुढाथोकी बताउँछन् । 

भदौ २३ गतेको आन्दोलनमा गोली लागेर धेरै युवाको मृत्यु भएपछि भदौ २४ गतेको आन्दोलन हिंसात्मक बनेको थियो । कोटेश्वरमा आन्दोलनकारीहरुले चौकी जलाउन थालेपछि प्रहरीले १४-१५ राउण्ड फायरीङ गरेको र त्यही क्रममा महेशलाई घाँटीमा गोली लागेको उनका साथीहरुले बताएका छन् । कोटेश्वरमा गोली लागेर महेशका पाँच जना साथीहरु घाईते भएका थिए ।

दिल कुमारीको उपचारमा धेरै ऋण लागिसकेको उनीहरुको परिवारमा अब कमाउने उनको श्रीमान् केशबमात्र छन् । छोरा गुमाएको पीडा र आर्थिक समस्याले अहिले सिंगो परिवारनै विलखबन्धनमा परेको दिल कुमारीको गुनासो छ । उनको परिवारलाई  दोलखाका उद्योगी एवम् समाजसेवी बालकृष्ण सिवाकोटी लगायतले केही सहयोग गरेको छ ।